लेबनान । दक्षिणी लेबनानको टायर शहर नजिकै रहेको बुर्ज अल-शेमालीमा बिहीवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।
लेबनानको सरकारी समाचार एजेन्सी (एनएनए) काअनुसार इजरायली ड्रोन र लडाकु विमानहरूले बुर्ज अल–शेमालीको अल–मलाअब टोललाई लक्षित गरी श्रृंखलावद्ध आक्रमण गरेका थिए । आक्रमणपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरू त्रसित भई सुरक्षित स्थानतर्फ भागेका छन् ।
लेबनानी सेना र आपत्कालीन उद्धार टोलीहरूले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गर्नुका साथै भग्नावशेषमा कोही फसेका छन् कि भनी खोजी कार्य गरिरहेका छन् ।
एनएनएकाअनुसार इजरायली सेनाले टायर जिल्लाभरि रातभर र बिहीबार बिहानैदेखि आक्रमण तिब्र पारेको छ । हवाई आक्रमणका अतिरिक्त इजरायली तोपखानाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने मन्सौरी, मज्दल जोन र नजिकैका उपत्यकाहरूलाई निशाना बनाएको छ । यस्तै, तटीय क्षेत्रको हमरा इलाकामा इजरायली पक्षबाट मेसिनगनमार्फत गोली प्रहार गरिएको समेत समाचारमा उल्लेख छ ।
इजरायल र लेबनानका अधिकारीहरूबीच सीमा सुरक्षा र द्वन्द्व न्यूनीकरणका विषयमा रोममा वार्ता भइरहेकै समयमा यो आक्रमण भएको हो । वासिङ्टनमा जुन महिनामा भएको सहमति कार्यान्वयनको ढाँचा तयार पार्न आयोजित यो सातौं चरणको वार्ता हो । यद्यपि, लेबनानको सशस्त्र समूह हिजबुल्लाहले भने यस वार्ताको विरोध गर्दै आएको छ ।






