काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग यसै वर्षको अन्त्यसम्ममा पुनः भेटवार्ता गर्ने अपेक्षा व्यक्त गरेका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले किमसँगको भेटका बारेमा सोधिएको प्रश्नको जवाफमा आफू उनीसँग भेट्न इच्छुक रहेको बताएका हुन् ।
सो अवसरमा उनले उत्तर कोरियाली नेता किमसँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको उल्लेख गरे । राष्ट्रपति ट्रम्पले भने, ‘हो, म उनीसँग भेट्नेछु । हाम्रो सम्बन्ध सौहार्दपूर्ण छ । हामी इरानलाई आणविक हतियार राख्न दिन सक्दैनौँ, तर किम जोङ उनलाई म राम्ररी चिन्छु र उनीसँगको विषय सकारात्मक रूपमा अगाडि बढ्नेछ ।’
यद्यपि, ह्वाइट हाउसले दुई नेताबीचको सम्भावित भेटघाटको योजनालाई हालसम्म आधिकारिक रूपमा पुष्टि भने गरिसकेको छैन ।
वाल स्ट्रिट जर्नल (डब्लुएसजे) को एक रिपोर्टकाअनुसार राष्ट्रपति ट्रम्पले नोभेम्बरमा हुने आफ्नो एसिया भ्रमणका क्रममा नेता किमसँग प्रत्यक्ष भेटवार्ता गर्ने विषयमा निजी रूपमा छलफल गरेका छन् । ट्रम्पले यस शिखर वार्तालाई उत्तर कोरियासँग संवादको ढोका पुनः खोल्ने अवसरका रूपमा हेरे पनि केही अमेरिकी अधिकारी र विश्लेषकहरूले भने यस भेटबाट तत्कालै कुनै ठोस वा ठूलो प्रगति हुनेमा आशंका व्यक्त गरेको डब्लुएसजेले उल्लेख गरेको छ ।






