काठमाडौँ । पोखराको कोलाहलबाट केही पर, चारैतिर मनोरम हिमशृङ्खलाले घेरिएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६, अस्ताम गाउँ शुक्रवार एकाएक राष्ट्रिय चासोको केन्द्र बन्यो ।
देशको कार्यकारी प्रमुख प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अप्रत्याशित भ्रमणले अस्तामवासीमा एकातिर खुशी र कौतुहलता छायो भने अर्कोतिर वर्षौंदेखि थाती रहेका आधारभूत समस्याहरू प्रधानमन्त्रीसमक्ष पुर्याउने व्यग्र उत्कण्ठा देखियो ।
शुक्रवार बिहानैदेखि अस्तामको उकालो बाटोमा सुरक्षाकर्मीहरूको आवागमन बाक्लिएपछि मात्र स्थानीयले आफ्नै गाउँमा प्रधानमन्त्री आउँदै गरेको सुइँको पाएका थिए । स्थानीय बासिन्दाहरू आफ्ना घरआँगन र सडक छेउछाउ भेला भएर देशका कार्यकारी प्रमुखलाई प्रत्यक्ष देख्न र आफ्ना मनका कुरा सुनाउन व्यग्र प्रतीक्षा गरिरहेका थिए ।
प्रधानमन्त्री बालेन अस्तामको प्रसिद्ध ‘अन्नपूर्ण इको भिलेज’ मा बस्ने तालिका रहेको जानकारी पाएपछि स्थानीयहरू गाउँको मुहार फेरिने आशामा उत्साहित देखिए ।
बाटो छेउमा भेटिएकी स्थानीय ज्ञानु अधिकारीले भनिन्, ‘बिहान सुरक्षाकर्मी आएपछि मात्र थाहा भयो । पुराना दलहरूलाई वर्षौं भोट दियौँ तर केही भएन। अब नयाँ नेतृत्वले देश र जनताका लागि केही राम्रो गर्छन् कि भन्ने ठूलो आश छ । उहाँलाई गाडीबाटै भएपनि एक नजर देख्न पाउँ भनेर कुरिरहेका छौँ ।’ उनले नयाँ राजनीतिक दलहरूले राम्रो काम गर्नुपर्ने बताइन् । अपराध गर्नेलाई विदेशमा जस्तै कडा भन्दा कडा कारबाही गर्नुपर्ने उनको सुझाव छ ।
उनले भनिन्, ‘पुरानालाई अब फालियो, नयाँहरूले राम्रो गर्नुहुन्छ कि भन्ने आशा छ । तर अपराध गर्नेलाई विदेशमा जस्तै कडाभन्दा कडा कारबाही गर्ने कानून बन्नुपर्छ ।’अस्ताम गाउँ भौगोलिक रूपमा उच्च डाँडामा अवस्थित भएकाले यहाँको सबैभन्दा ठूलो र प्रमुख समस्या भनेकै खानेपानी र सिंचाइको अभाव हो । विश्वविद्यालयका प्राध्यापक तथा स्थानीय होटल व्यवसायीका अभिभावक नन्दलाल अधिकारीकाअनुसार यहाँका बहुसंख्यक बासिन्दाहरू किसान हुन् तर पानीको चरम अभावका कारण उनीहरूको पसिना खेर गइरहेको छ ।
भौगोलिक रूपमा उच्च डाँडामा रहेकाले अस्ताममा खानेपानी र सिँचाइको चरम अभाव छ। विश्वविद्यालयका प्राध्यापक तथा स्थानीय होटल व्यवसायीका अभिभावक नन्दलाल अधिकारीका अनुसार यहाँका धेरैजसो बासिन्दा किसान भए पनि पानी नहुँदा पसिना खेर गइरहेको छ।
‘यो ठाउँ एकदम उच्च भागमा भएकाले मुख्य रूपमा खानेपानीकै ठूलो समस्या छ,’ पोखरा नजिक भए पनि सिँचाइ नहुँदा तरकारी खेती विस्तार गर्न नसकिएको बताउँदै उनले भने, ‘यदि सरकारले यहाँ व्यवस्थित खानेपानी र सिँचाइ योजना ल्याइदिने हो भने कृषकहरूले उत्पादन गरेको ताजा तरकारी पोखरा बजारमा सहजै बेचेर आत्मनिर्भर बन्न सक्छन्।’
उनले अगाडि भने, ‘खानेपानी त पुग्दैन भने पानी नभई तरकारी खेती सम्भव नै छैन। पोखराको नजिकै भएकाले यहाँ पानीको व्यवस्थापन भए कृषकहरू आर्थिक रूपमा समृद्ध बन्नेछन्।’
माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र धौलागिरी हिमशृङ्खला एकै ठाउँबाट देखिने पर्यटकीय सम्भावना भए पनि अस्ताम पुग्ने बाटो अत्यन्तै कच्ची छ। स्थानीय रामप्रसाद अधिकारीले बाटो र पानीलाई पहिलो प्राथमिकतामा राखेर समाधान गरिदिन आग्रह गरे।
‘हाम्रो मुख्य अपेक्षा भनेको बाटो नै हो,’ हिउँदमा काकाकुल हुनुपर्ने बाध्यता सुनाउँदै उनले भने, ‘बर्खामा त पानीको जोहो हुन्छ तर हिउँदमा गाह्रो छ। अप्ठ्यारो बाटोले गर्दा बिरामी पर्दा अस्पताल पुर्याउन समेत धौधौ पर्छ।’
अर्का स्थानीय शोभाखर अधिकारीले गाउँमा पहिलो पटक प्रधानमन्त्री आएकोमा खुसी व्यक्त गरे। ‘अहिलेसम्म यहाँ कुनै प्रधानमन्त्री आउनुभएको थिएन,’ उनले भने, ‘अहिले बालेनज्यू आउनुभएको छ। उहाँले हाम्रो यो अप्ठ्यारो बाटो कालोपत्रे गरिदिए र पानीको धारा जोडिदिए गाउँलेको ठूलो कल्याण हुनेथियो।’
प्रधानमन्त्री आफ्नो गाउँमा आएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘उहाँले हाम्रो बाटो र पानीको समस्या बुझेर काम गरिदिए हामी सधैँ आभारी रहनेछौँ।’






