मानसरोवरलाई मानस पनि भनिन्छ । मानस भनेको मन हो । र मानस भनेको मनको विशेषण पनि । हाम्रो मन पनि एउटा सरोवर अर्थात् ठूलो तलाउ त हो ।
भगवान् बुद्ध भन्नुहुन्छ, हामी मनमा जे सोच्छौँ त्यही बन्छौँ । आज यो विवेचना लेखिरहँदा मेरो मन पनि कैलाशमय भएको छ ।
कुनै कुनै कुरा मानिसले पहिल्यै मन पराइसकेको हुन्छ रे । त्यो किताब, सिनेमा, व्यक्ति या स्थान जे पनि हुन सक्छ । कुनै ठाउँमा जिज्ञासाले जानु र निष्ठाले जानुमा फरक छ । म बद्रीनाथ जाँदा पूर्वजीय निष्ठाले गएको थिएँ । त्यहाँ मन पराउनुको विकल्प नै थिएन । त्यहाँ पुग्दा शरीरमा रोमाञ्च होस् भन्ने मेरो चाहना थियो, जो भयो पनि । किनकि त्यो हुनु आवश्यक थियो ।
जिरी घुम्न जाँदा म जिज्ञासाले गएको थिएँ । जिरीसँग मेरो कुनै निष्ठा थिएन । मेरो मन जिरीलाई जसरी पनि रुचाएरै छाड्ने तयारीमा थिएन । त्यसैले होला, त्यहाँ मलाई कुनै रोमाञ्च भएन ।
ताराको मानसरोवर भ्रमण आस्थाको हो । श्रद्धा, भक्तिभाव र निष्ठाको हो । यात्रा सुरु गर्नुअघि नै हृदयमा कोमलभाव सञ्चार भइसकेको थियो । त्यहाँ पुगेपछि जीवन र जगतलाई हेर्ने दृष्टिकोण भिन्न बनाउनुपर्छ भन्ने पूर्वतयारी पनि थियो ।
नियात्राकार तारा सुनुवारलाई पुस्तकको शीर्षक किन ‘शून्यदेखि पूर्णसम्म’ नै राख्नुभयो भनेर सोध्न मन लागेको हो । तर सोधिनँ । सोधेको भए सायद शून्य र पूर्णबारे तलका केही वाक्य लेखिने थिएनन् ।
शून्यको अर्थ हो सुनसान अथवा एकान्त । शून्यको अर्को अर्थ हो केही पनि नहुनु अर्थात् रित्तो र खोक्रो । शून्यको अर्थ हो अखण्ड नीरवता ।
शून्य भनेको आकाश या अनन्त पनि हो । शून्यको कुनै आदि र अन्त छैन । त्यसैले शून्य भनेकै पूर्ण ब्रह्म पनि हो ।
व्यवहारमा यो जगत् सत्य प्रतीत हुन्छ तापनि परमार्थमा त शून्य नै हो । परमार्थ भनेको ईश्वर या ब्रह्म हो । त्यसैले शून्य भनेको ब्रह्म र ब्रह्म भनेको नै शून्य । ब्रह्म पूर्ण हुन्छ, त्यसैले ऊ शून्य पनि हो ।
म कैलाश मानसरोवर पुगेको छैन । वर्तमान जन्ममा पुग्ने सम्भावना पनि छैन । किनकि अब त समयले धेरै पछाडि छाडिसक्यो । ताराजीको अभिमतबाट हेर्दा म त्यहाँ नपुग्नुको अर्को अर्थ पनि लाग्छ । भगवान् महादेवले निमन्त्रणा नदिएको मानिस कसरी कैलाशसम्म पुग्न सक्छ ?
हो ताराजी ! सायद तपाईंको उक्तिमा सत्यता छ । सायद जीवनका सारा गतिविधिहरू पूर्वनिर्धारित छन् । जसको भागमा जहाँ पुग्नु, जे गर्नु, जे भोग्नु र जति जिउनु छ, त्यत्ति नै प्राप्त हुन्छ । हाम्रो अधिकार त केवल कर्ममा मात्र छ ।
अब त नपुग्नुको पश्चात्ताप पनि रहेन । ताराजीका शब्दहरूको विमानमा सवार भई कौसलटारदेखि कैलाशसम्म सयर गरेर तृप्त भएको छु । मनमनै आफैँ पुगेर परिक्रमा गरेझैँ महसुस भएको छ ।
आत्मादेखि जागेको सम्मान, भरोसा र श्रद्धाले गर्दा तारा प्रस्थान गर्नुपूर्व नै विकट यात्रा पार गरेरै छाड्ने अठोटमा थिइन् । सायद उनका सारा सहयात्री पनि त्यस्तै अठोटमा थिए । त्यही श्रद्धाले नै आत्मबल बढायो । मन पूर्वनिर्धारित रूपमै मजबुत थियो । त्यसै कारण मार्गमा आउने कष्टको सामना गर्न कुनै कठिनाइ भएन ।
भगवानले भन्छन् रे, तिमी आँट म पुर्याउँछु । भगवानले म पुर्याउँछु, तिमी आँट भन्दैनन् रे । भगवान् पनि प्रेरक मात्र रहेछन् । निर्धारक त मनुष्य आफैँ रहेछ ।
यात्राको पहिलो दिन स्याफ्रुबेँसीमा वास बस्दा तारा मोह, माया र स्वार्थमा अल्झेको ‘म’लाई सिमानाभन्दा यतै बगरमा छाडिदिने संकल्प गर्छिन् । उनी चाहन्छिन्, कैलाशमा पुग्दा मन रित्तो होस्, जसमा उनी नयाँ ‘म’लाई राख्न सकून् ।
बडो सहृदयी छन् तारा । उनी आफूलाई बदल्न चाहन्छिन् । नयाँ कलेवरमा अवतरित हुन चाहन्छिन् । आफूलाई सुमानव बनाउने जीवन्त हुटहुटी छ ।
नेपाल–तिब्बत सीमान्तमा पुग्दा उनी भावुक हुँदै लेख्छिन्, ‘एउटा भूगोलबाट अर्कोमा प्रवेश गर्नु केवल प्राविधिक कुरा मात्र हुनुपर्ने हो, तर सिमाना भन्ने शब्द आफैमा कति भारी ।’
सिमाना काटेर उता प्रवेश गर्नासाथ एकजना चिनियाँ अफिसरको ‘कम कम’ शब्दमा निमन्त्रणाभन्दा आदेशको गन्ध बढी थियो ।
नेपालको सीमान्तमा सामान्य प्रहरी बिट, जस्ताको छाना, हातले लेखिएको रजिस्टर र उता भने त्यो सानदार नजारा । ताराको छाती भारी भयो । मनमा हीनताबोध छाएझैँ भयो । उनी आक्रोशमा लेख्छिन्, ‘कहाँ चुक्यौं हामी ?’
बिहान चिनियाँ बसका चालकले ॐ नमः शिवाय भनेर विनम्र स्वागत गरे । उता सीमा अफिसर भने कडा थिए । सीमा नाकामा शासन र भित्र छिरेपछि शालीनता । सायद हुनुपर्ने पनि त्यस्तै हो कि ।
यात्रा गर्दागर्दै तारालाई विकासको भोक लाग्छ । राष्ट्रियताको भावनाले हठात् कैलाशयात्रामा छु भन्ने होस हराएझैँ हुन्छ । हृदय ग्लानीले बोझिलो हुन्छ । बस विकट भूगोलको चिल्लो बाटोमा आफ्नै गतिमा थियो । बसका चालक चालक मात्र नभई देशका पहरेदार पनि थिए । उनले सिसाबाट यात्रीहरूको निगरानी गरिरहेका थिए । एक जना सिङ्गापुरे यात्रीले उठेर आफ्नो झोलाको चेन खोल्न खोज्छन् । श्याम वर्णका उनलाई हिन्दुस्तानी ठानेर होला, चालक भन्छन्, ‘बैठो बैठो’ ।
तारा कहिले आनन्दित हुन्छिन् त कहिले सोचमग्न । लेख्छिन्,
‘जीवन पनि भूगोल जस्तै त हो नि । कतै उकाली, कतै ओराली र कतै घुम्तीहरू ।’
लम्बेतान तिब्बती मालभूमिमा देखिएको अलौकिक दृश्यले उनलाई सहसा अतीतमा पुर्याउँछ । बनसखण्डी अर्थात् किरातेश्वर महादेवलाई इष्टदेवता मान्ने संस्कारमा हुर्केकी तारा शिवशक्तिकी परम भक्त हुन् । उनले सानै उमेरमा यस्तै दृश्य सपनीमा देखेकी थिइन् । उनी सँगसँगै यात्रारत काका ससुरालाई भन्छिन्, ‘बुवा हेर्नुस् ! म त सपनामा यो ठाउँमा पहिले नै आइसकेकी थिएँ ।’
मानसरोवरको किनारामा पुग्दा त उनी रोमाञ्चले पुलकित हुन्छिन् । उनको शब्दमा ‘यो एउटा तालको किनारामा पुग्नु मात्र थिएन । यो त भगवान् शिव र माता पार्वतीको क्रीडास्थलको आँगनमा पाइला टेक्नु थियो ।’
विस्मय र उल्लासमा मूर्च्छित जस्तै हुन पुग्छिन् उनी । सायद मानवीय चेतनाले प्रकृतिस्थ हुन प्रेरित गरेको हुनाले हो कि । अथवा संस्कारजन्य प्रभावले हो कि । अथवा एउटै स्थानमा प्रकृति र संस्कृतिको सुन्दर सङ्गम फेला पर्नाले हो कि । सायद यस्तो अनुभूतिलाई व्यक्त गर्ने शब्दको आविष्कार नै नभएको हुनाले हो कि । किन हो थाहा छैन, तर यस्ता रोमरोम ठाडा हुने अनुभूति अनिर्वचनीय नै हुन्छन् ।
तारा लेख्छिन्, ‘ईश्वर र प्रकृति दुवैलाई अलिकति टाढैबाट सम्मान गर्दा नै उनीहरूको शुद्धता सुरक्षित रहने रहेछ ।’
मनुष्य सुन्दरताको पछाडि दगुर्छ । सायद उसलाई लाग्दछ, सुन्दरतालाई स्पर्श र भोग गर्न पाए अझ कति आनन्द प्राप्त हुँदो हो । तर सौन्दर्य टाढैबाट अनुभव गर्दा नै सार्थक हुन्छ । ईश्वर पनि अप्राप्तिमै सुन्दर छन् । मैले कतिपय मोक्ष पनि नचाहने मनीषी देखेको छु । मुख्य कुरा ईश्वरमा विलय हुने कि साक्षी बनेर ईश्वरीय अनुभूति गर्ने भन्ने हो ।
भ्रमणमा ताराको हृदय बारम्बार भावातिरेकले सिक्त हुन्छ । त्यस्तो अगम्य ठाउँमा पनि जीवन चलिरहेको छ । वनस्पतिहरू प्राण बचाएर युगानुयुगदेखि अस्तित्वमा छन् । पर्वतहरू थप्पड खाएर पनि अटल छन् । पशुपक्षीहरू जो प्राप्त भएको उपभोग गरेर बसेकै छन् । पवन आफ्नो गतिमा अविरल गतिमान छ । कहीँ कतै गुनासो छैन ।
त्यही दृश्यबाट प्रभावित हुँदै तारा लेख्छिन्, ‘हामी एक्लै जन्मिन्छौँ र एक्लै मर्छौँ । त्यसबीचको यात्रामा हामी जति धेरै मोह बटुल्छौँ, हाम्रो यात्रा पनि त्यति नै कष्टकर हुन्छ ।’
दर्शन, स्नान र परिक्रमा सकेर फर्कने बेलाको सम्झनामा उनी लेख्छिन्, ‘हामी अहंकार र मनको भारीपन उतै कैलाशमा बिसाएर आउँदै थियौं ।’
तर मनुष्यको मन त हो । अहंकारको भाव सहजै किन पो तिरोहित हुन्थ्यो र । वसुधैव कुटुम्बकममा रमाएको मन कुन बखतमा विभेदी बनिदिने हो, के ठेगान ।
फोटो खिच्ने क्रममा श्याम वर्णका हिन्दुस्तानी मूलका सिङ्गापुरे यात्रीहरू मिसिन खोज्दा ताराकी एकजना मित्रलाई रिस उठिहाल्छ । उनी सुनुवार भाषामा भन्छिन्, ‘मार ओथ पिबामा एको केरपिकी ?’
तारा सम्झाउने प्रयास गर्छिन् । तर साथीले जिद्दी गरिरहिन् ।
‘म ग्रिङ गे ! काले मदातुङमा मेर मदा तु मदा तु (नकरा तँ ! मलाई मन नपरेपछि परेन परेन) ।’
कैलाशतिर जाँदा ॐ नमः शिवाय भनेर मन खुसी पारेका चालकले फर्कने सिलसिलामा एका बिहानै ॐ मणि पद्मे हुँ सम्बोधन गरेको सुन्दा ताराको मन प्रफुल्ल हुन्छ ।
केरुङ आइपुगेपछि तारा तातोपानीमा स्नान गर्छिन् । यहाँ भने उनी अलिकता अनपेक्षित वाक्य लेख्न पुग्छिन् । ‘शरीरमा टाँसिएको कैलाशको हिलो, मैलो, धूलो र हप्तौं लामो यात्राको थकान तातोपानीसँगै पखालिएर जाँदा बल्ल होस फिरे जस्तो भयो ।’ असीम भक्तिभावले गरेको यात्रा थियो त्यो । म पनि एउटा पाठक हुँ भन्ने बिर्सेर सहयात्रीझैँ त्यसैमा समाहित भएको थिएँ । यहाँनिर आइपुग्दा भने मलाई आफू सहयात्री नभई पाठक मात्र भएको महसुस भयो ।
अहो कैलाशले त हिलो, धूलो र मैलो उपहार दिएर पो पठाएछ ! यहाँ एउटा इमानदार पाठकका नाताले ‘कैलाशको हिलो, मैलो र धूलो’को सट्टा लामो यात्राको हिलो, मैलो र धूलो लेखेको भए कति जाती हुँदो हो जस्तो लाग्यो ।
सायद त्यहाँ सम्पादनमा असावधानी भयो कि । उनी महादेवकी परम भक्त हुन् । शिवलाई ताराका पुर्खाहरूले पारुहाङ भनेर पुजे । उनलाई ताराले बनसखण्डी, वाक्ई, पोइबु वा किरातेश्वर भनेर पुकारिरहिन् । तिनै देवाधिदेव महादेवको आदिथलोमा टेक्न पाउनुलाई उनले जीवनको सर्वोच्च उपलब्धि मानिन् । तिनकै पवित्र धाम कैलाशले उनको मनको मैलो सफा गरेको थियो ।
साउनको महिना । टिमुरे आइपुग्दा पहिरोले बाटो छेक्यो । ताराले बाटो खुलाउन पहल गरिन् । यही प्रसङ्गमा मलाई तारासँग सहयात्री हुँदाको समयको सम्झना भयो । २०८१ साल चैतको कुरा हो । केही स्थापित साहित्यकार र केही म जस्तै साहित्यप्रेमी समेत बीस जना रुकुम पश्चिममा पर्ने मुसीकोट र त्रिवेणीको भ्रमण सकेर बागलुङतिर आउँदै थियौँ । लुकुम आइपुग्दा हाम्रो बस चल्नै नसक्ने गरी थचक्क भयो ।
साँझ पर्दै जान थाल्यो । रनभुल्लको अवस्था थियो । त्यस्तैमा ताराले पुलिससँग कुराकानी गर्न थालिन् । ‘पछाडि काठमाडौं जाने बस आउँदै छ रे । आत्तिनु पर्दैन ।’ बस आउनेवाला नै थियो । आई पनि हाल्यो । तर परिस्थितिलाई समालेर सबैलाई आश्वस्त पार्न सक्ने उनको खुबी अचम्मको थियो । कलम र व्यावहारिक जीवन दुवैमा निपुण ।
ताराले यात्रा पूरा गरेर कौसलटारस्थित स्ववासमा आइपुग्ने बेलाको वर्णन साह्रै मर्मस्पर्शी तरिकाले गरेकी छन् । प्यारी धर्मपत्नी सकुशल आएको पाउँदा पति इन्द्रमणि गदगद हुन्छन् । पतिले पत्नीको हात चुमेको र पत्नीले पतिका हात समातेर शिरमा पुर्याएको वर्णनले पाठकका अगाडि दाम्पत्य प्रेम, सम्मान र स्नेहको सुरम्य दृश्य उपस्थित गराउँछ ।
प्रफुल्ल ताराका गोडा भुइँमा थिएनन् । जीवनको प्रमुख अभीष्टलाई प्राप्त गर्नु र त्यो अमूल्य प्राप्तिलाई अक्षरको मालामा उनेर सबैका सामु प्रस्तुत गर्नु एउटा महान् उपलब्धि थियो ।
‘संसारका सबैभन्दा सुन्दर तीर्थ घुमेर आए पनि अन्तिम शान्ति त आफ्नै माटोमा लुकेर बसेको हुने रहेछ ।’ लामो र दुरूह यात्राको यो निचोडले धेरै गहिरो अर्थ राखेको छ ।
हाम्रा लागि सर्वोपरि कुरा त आफ्नै देश रहेछ । जीवनयात्राका क्रममा जति नै समृद्ध भूमिमा पुगे पनि सबैभन्दा सुन्दर, शान्त र विशाल त आफ्नै मातृभूमि रहेछ । यात्रामा जति नै असल र सुन्दर सहयात्रीसँग भेट भए पनि सर्वप्रिय त आफ्नै परिवार हुँदो रहेछ ।
प्रस्थान गर्ने बखतमा तारालाई शून्यबाट पूर्णतिर जाँदैछु जस्तो लाग्यो होला । यात्रा गरेपछि त कैलाश पनि पूर्ण र घर परिवार पनि पूर्ण । आफ्नो परिवारलाई समेत पूर्ण महसुस गर्न पूर्णको यात्रा गर्नु जरुरी थियो, जो ताराले गरेरै छाडिन् । बल्ल महसुस भयो, आखिर शून्य नै पूर्ण र पूर्ण नै शून्य रहेछ ।
पुस्तकको अन्तिम भागमा ताराको आत्मबोध प्रकट भएको छ । उनी कोमल छन्, तर त्यहाँ परिपक्वता छ । उनले पशुपतिनाथलाई कैलाशबाट ल्याएको पवित्र जलसँगै आफ्नो अश्रुधारा पनि चढाउँछिन् । अग्रजप्रतिको उनको सम्मानले पाठकलाई भावुक बनाउँछ । ससुरा बुवाप्रतिको सम्मान र स्नेह स्तुत्य छ ।
आखिरमा उनले घरलाई नै आफ्नो गन्तव्य महसुस गर्छिन् । जीवनको सार त आफूलाई चिन्नुमा रहेछ । करुणा र कर्तव्यबोध नै जीवनको अभीष्ट रहेछ । आफूलाई भेट्टाउनु नै ईश्वरलाई भेट्टाउनु रहेछ ।
तारा अन्त्यमा लेख्छिन्, ‘शान्ति खोज्न कतै जानु पर्दैन । यदि तपाईंको मन मानसरोवरको जल जस्तै स्वच्छ छ भने ईश्वर तपाईंभित्रै हुनुहुन्छ ।’






