काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ ।
“सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो”, धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए ।
सोही कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको उनले बताए ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।
ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्लपूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।
वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पुजिन्छ । अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।
खाइयो क्वाँटी, बाँधियो राखी
आजका दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुँसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता रहिआएको धर्मशास्त्रविद् प्रा डा. भट्टराईले बताए ।
नेपालका तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर राखी पर्व मनाएका छन् । यसबाट दिदीबहिनी र दाजुभाईबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । राखी बाँध्ने परम्परा अहिले काठमाडौँ उपत्यका र पहाडी जिल्लामा पनि सुरु भएको छ ।
यस अवसरमा आज काठमाडौँको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वर लगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाईंकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, धनुषाको जनकपुरधाम, धनुष सागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणी धाम लगायतका ताल, पोखरी र कुण्डहरूमा मेला लागेको छ ।
मनाइयो गुन्हु पुन्ही
नेवारी समुदायले भने श्रावण शुक्लपूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका छन् ।
बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितबिस्तरमा यससम्बन्धी विस्तृत रूपमा व्याख्या गरिएको छ । यसैकारण आज स्वयम्भूमा पनि विशेष मेला लागेको जनाइएको छ ।






