काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारका गलत काम रोक्न र जनताको अधिकारको रक्षा गर्न नयाँ राजनीतिक अग्रगामी मोर्चा निर्माण गरिएको छ ।
साहले अग्रगामी मोर्चा सरकार गिराउने र बनाउने खेलका लागि मात्रै नभएको दाबी गर्दै सरकारका गलत निर्णय, भ्रष्टाचार, महँगी, कालोबजारी तथा जनतामाथि हुने अन्यायविरुद्ध राजनीतिक संघर्ष गर्न मोर्चा निर्माण गर्न लागिएको बताएका हुन् । उनले देशको राजनीति गलत दिशातर्फ गएकाले त्यसलाई सही बाटोमा ल्याउन नयाँ राजनीतिक शक्ति र मोर्चाको आवश्यकता परेको जिकिर गरे । उनले महँगी र कालोबजारी बढेको, भ्रष्टाचार नियन्त्रणका नाममा समेत लुट भइरहेको तथा गरिब र सुकुम्बासीमाथि अन्याय भइरहेको आरोप लगाए ।
यस्ता गतिविधि आफूहरूलाई स्वीकार्य नभएको भन्दै उनले सरकारविरुद्ध राजनीतिक रूपमा प्रतिरोध आवश्यक रहेको बताए । साहले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले अपेक्षित परिणाम दिन नसकेको भन्दै राजनीतिक दलहरूले विगतका संघर्षको समीक्षा गर्नुपर्ने बताए । उनले २००७ सालदेखि २०४६ सालको आन्दोलन, मधेस आन्दोलन र जनयुद्धसम्मका संघर्ष सम्झिँदै पटक–पटक आन्दोलन भए पनि जनताले त्यसको अपेक्षित प्रतिफल पाउन नसकेको बताए । उनकाअनुसार आन्दोलनहरू सम्झौतामा टुंगिने र सम्झौताका विषय कार्यान्वयन नहुँदा जनताको अधिकार स्थापित हुन नसकेको हो ।
उनले भने, ‘सरकार गिराउने–बनाउने हेर्नुपर्छ, तर सरकारको अत्याचार रोक्न जरुरी छ । नेपालमा जति पनि लडाइँ भए, सबै सम्झौतामै डुबेर धोकाको सिकार भए ।’
उनले संघीयता, लोकतन्त्र, समानता र स्वाधीनताका लागि भएका संघर्षको उद्देश्य पूरा नभएको दाबी गर्दै अबको राजनीतिक संघर्षलाई उपलब्धिमुखी बनाउनुपर्ने बताए । साहले नेपालमा लोडसेडिङ अन्त्य र विद्युत् क्षेत्रमा भएको परिवर्तनको श्रेय पूर्वऊर्जामन्त्री जनार्दन शर्मालाई दिनुपर्ने बताए । उनले विभिन्न समयमा सरकारमा सहभागी भएका मन्त्रीहरूको योगदानको राजनीतिक मूल्यांकन हुनुपर्ने बताए ।






