काठमाडौँ । उत्तरी नाकामा बाढीले पुर्याएको अवरोध तथा १० असोजको विनाशकारी बाढीका कारण राजस्व संकलनमा असर पर्ने देखिए पनि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व वृद्धि भएको छ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३-८४ को साउन र भदौमा सरकारले कुल १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८२-८३ को भदौसम्म १ खर्ब ५८ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
यस वर्ष भदौ महिनामा मात्रै ९१ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको भदौमा भने ७३ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठेको थियो। गत वर्ष भदौको अन्तिम साता भएको जेन जेड आन्दोलनका कारण राजस्व संकलन प्रभावित भएको थियो।
राजस्व संकलनमा अघिल्लो वर्षको तुलनामा वृद्धि भए पनि सरकारले निर्धारण गरेको लक्ष्य भने पूरा हुन सकेको छैन। चालु आर्थिक वर्षको भदौसम्म २ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा त्यसको ८५.९३ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ मात्र संकलन भएको हो।
भदौ महिनाका लागि मात्रै ९६ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो। तर, सो महिनामा ९१ अर्ब ३८ करोड रुपैयाँ मात्रै संकलन भएको छ। यो लक्ष्यको ९४.३३ प्रतिशत हो।
तथ्यांक अनुसार भदौ ३१ गते मात्रै सरकारले ५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको भदौसम्म २ खर्ब १८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै उठेको थियो।
सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। तर, रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट उत्तरी नाकामा परेको अवरोधले आगामी दिनको राजस्व संकलनमा समेत असर पार्ने देखिएको छ।






