कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन आग्रह गर्दै यस क्षेत्रको विकासबिना मुलुकको पूर्ण विकास सम्भव नहुने बताएका छन् ।
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको ११औँ संविधान तथा राष्ट्रिय एकता दिवस समारोहमा उनले नेपाली जनतालाई संविधानले अधिकारसम्पन्न बनाएको बताउँदै संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समानुपातिकतालाई केन्द्रमा राखेको सुनाए।
प्रदेश प्रमुख जोशीले संविधानको अक्षरशः पालना र प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै अंगको सक्रियता आवश्यक छ भने ।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपाली जनताको त्याग, समर्पण र बलिदानबाट जारी भएको संविधानले नागरिकका सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताए। संविधानको संस्थागत विकासका लागि सबैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकलाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपालको संविधानले सबै जाति, वर्ग, धर्म, लिंग र भाषाका नागरिकलाई समेटेको बताए। संविधानले नागरिकका अधिकार सुनिश्चित गर्नुका साथै कर्तव्यप्रति पनि सचेत गराएको उनले उल्लेख गरे ।






