काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने प्रवृत्ति त्यागेर देश र जनताको सेवामा समर्पित हुन चेतावनी दिएका छन्।
गृहमन्त्री गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको पक्षमा लाग्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्नु रहेको बताएका हुन्।
उनले लेखेका छन्, ‘हामी सरकारमा आएदेखि नै एउटा कुरा स्पष्ट रूपमा भन्दै आएका छौँ–राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने होइन, देश र जनताको सेवा गर्ने हो। हामी नेता र कर्मचारी सबैको साझा उद्देश्य एउटै हुनुपर्छ, देशप्रति समर्पित भएर जनताको सेवा गर्ने। यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ।’
पटकपटक स्पष्ट पार्दा पनि राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए तत्काल त्यस्तो सोच त्याग्न उनले आग्रह गरेका छन्। आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिएका छन्। यस विषयमा कुनै सम्झौता नहुने उनको स्पष्ट भनाइ छ।
गृहमन्त्री गुरुङले सरकारलाई नेताको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख र समस्या बुझ्ने, आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने तथा देशप्रति समर्पित राष्ट्रसेवक कर्मचारी आवश्यक रहेको बताएका छन्।





