काठमाडौँ । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन्।
हुथीका सैन्य प्रवक्ता याह्या अल–सरीअका अनुसार रियादका संवेदनशील क्षेत्र तथा रेड सी तटमा रहेका साउदी तेल कम्पनी अराम्कोका संरचनालाई लक्षित गरी आक्रमण गरिएको हो।
साउदी अधिकारीहरूले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। अन्य आक्रमणबारे उनीहरूले पुष्टि गरेका छैनन् । आक्रमणबाट भएको मानवीय क्षतिबारे पनि आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
शनिबार रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इन्धन भण्डारण क्षेत्रमा कालो धुवाँ देखिएको थियो। घटनापछि केही समय विमान उडानमा समेत अवरोध भएको थियो।
साउदी नेतृत्वको गठबन्धनका अनुसार बिश, ताइफ, फरासान र यान्बुमा पनि नागरिकलाई लक्षित गर्ने प्रयासलाई हवाई प्रतिरक्षाले रोकेको थियो।
हुथी र साउदी समर्थित यमन सरकारबीच जारी द्वन्द्वका कारण पछिल्लो समय क्षेत्रीय तनाव बढेको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार हालैको लडाइँका कारण यमनमा विस्थापित हुनेको संख्या १ लाख ४ हजारभन्दा बढी पुगेको छ।






