काठमाडौँ । नेपाल संवत् ११४७ को स्वागतमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले शनिबार राजधानीमा सुकुन्दा र्याली आयोजना गरेको छ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्यालीमा कांग्रेस सभापति गगनकुमार थापा सहभागी भएका छन् ।
काठमाडौँको लगनटोलबाट सुरु भएको र्यालीमा सहभागीहरूले नेवार समुदायको परम्परागत सांस्कृतिक सामग्री सुकुन्दा बोकेर नगरका विभिन्न स्थानको परिक्रमा गरेका थिए ।
र्याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक र न्युरोड गेट हुँदै तेबहालसम्म पुग्ने गरी आयोजना गरिएको थियो ।
कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, सांस्कृतिक अभियन्ता र सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूले परम्परागत सांस्कृतिक पहिचान झल्काउने सामग्रीसहित नयाँ वर्षको स्वागत गरेका थिए ।
कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यका अनुसार नेपाल संवत् मनाउने समुदायको सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो ।
नेपाल संवत् नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक संवत् हो । विशेषगरी नेवार समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन् । नेपाल संवत्को सुरुवात शङ्खधर साख्वासँग जोडिएको ऐतिहासिक मान्यता छ ।
यस वर्ष नेपाल संवत् ११४७ आगामी कात्तिक २४ गते मंगलबारदेखि सुरु हुँदै छ । सोही दिन नेवार समुदायले म्हपूजा गर्ने परम्परा छ ।
नेपाल संवत्को पूर्वसन्ध्यामा आयोजित र्यालीमार्फत कांग्रेस महानगर समितिले काठमाडौँको परम्परागत सांस्कृतिक सम्पदा तथा ऐतिहासिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने सन्देश दिएको छ ।





