काठमाडौँ । चन्द्रागिरी नगरपालिका-९, मच्छेगाउँमा घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले तीन जनालाई दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको छ।
प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले बिहीबार चन्द्रागिरी–१, गोकुलपाटीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई चन्द्रागिरी–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी–७ का २२ वर्षीय आकाश तामाङ र गजुरी–८ का २१ वर्षीय बेलबहादुर तामाङ छन्।
प्रहरीले उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्न प्रयोग हुने दुई वटा ‘टी’ आकारका औजार, दुई वटा सिमकार्ड, दुई वटा मोबाइल, बा.प्र.०२–०४१ प ३९३४ र बा.प्र.०२४५ प ६७०५ नम्बरका मोटरसाइकल तथा ५५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
तीनै जनालाई चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।







