काठमाडौँ । जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिँदो मौसमअनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड दिए।
जलयायु विज्ञ दाहालले उनले जुनसुकै मौसममा सुरक्षित रहने स्थान छनोट गरी ठूला पर्यटन पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । मनसुनका समयमा हुने जोखिमलाई ध्यानमा राखेर पर्यटन क्षेत्रको पुन:परिकल्पना गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले क्लाउडबस्र्ट, अत्यधिक वर्षा तथा नदीमा आउने बाढीजस्ता स्थानीय मौसमी घटनाको पूर्वानुमान र पूर्वतयारीलाई प्रभावकारी बनाउनुको विकल्प नरहेको पनि बताए ।
हिमालबाट बग्ने नदीका किनारमा रहेका बस्ती तथा पर्यटकीय क्षेत्रसमेत जोखिममा पर्न सक्ने भएकाले नयाँ सुरक्षा मापदण्ड र जोखिम क्षेत्रको पुन:रेखांकन आवश्यक रहेको उनले बताए । परम्परागत पूर्वतयारीले चरम जलवायुजन्य विपद्को सामना गर्न नसक्ने उनको भनाइ छ । उनले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई मध्य पहाड र तराईमा समेत देखिएकाले पर्यटन योजना निर्माण गर्दा सबै भौगोलिक क्षेत्रका जोखिमलाई समेट्नुपर्नेमा उनको जोड छ ।
उनले भने, ‘अब सुरक्षित पर्यटन गन्तव्यहरूलाई परिभाषित गर्दाखेरि दुई वटा कुरामा विचार गर्नुपर्ने छ । एउटा, ठूला पूर्वाधारहरूको विकासका लागि सुरक्षित हुने स्थल खोज्नुपर्यो । जुनसुकै मौसममा समेत सुरक्षित साथ राख्न पाइयोस् । धेरैजसो सुरक्षित यो चार महिनाको बर्खा बाहेक अरू बेला त तिनै ठाउँहरू अति सुन्दर आकर्षक हुन सक्छन् नि । त्यसैले यो एक किसिमको गतिशील सुरक्षाको मापदण्डलाई हामीले अपनाउनुपर्ने हुन्छ । अर्को, मौसम प्रणालीहरू बदलिए पनि त्यसको पूर्वानुमान क्षमताहरू बढिसक्या हुनाले यसलाई हिजोको जस्तो अन्योलमा अहिले अवस्था छैन । त्यसलाई स्थानीय घटनाहरू, त्यो क्लाउडबस्र्टहरू हुन्छ नि कुनै सीमित ठाउँमा एकदमै ठूलो वर्षा हुने, तर वरिपरि धेरै ठाउँमा पानी नपर्ने । त्यस्तो क्षेत्रमा भने पूर्वतयारी गर्नुपर्ने आवश्यकता छ । नेपालको मनसुनको पर्यटनलाई अलिकति पुन:परिकल्पना गर्नैपर्छ । हामीले भएकै बस्तीहरूलाई पनि कसरी सुरक्षित राख्ने भन्ने कुरामा नयाँ मापदण्ड बनाएर लागू गर्न कोसिस गर्नुपर्छ । नत्रभने परम्परागत तरिकाको सुरक्षाले अब धान्न सक्ने अवस्था छैन । अब नदी किनारमा, समुन्द्र किनारहरूमा चाहिँ पर्यटकीय क्षेत्र विकास भएको छ, त्यो देखेर नेपालका पनि हिमालबाट बगेर आउने नदीको किनारमा बसेका बस्तीहरूलाई निश्चित रूपमा खतरा बढेको छ भन्नलाई हामीले भन्न सक्छौँ । त्यसैले यो स्थायी हाम्रो सुरक्षाको नयाँ मापदण्ड, नयाँ रेखांकन नगरी हुँदैन ।’
जलवायुसम्बन्धी उपलब्ध सूचना, ज्ञान र वैज्ञानिक पूर्वानुमान क्षमताको उपयोग गरी पर्यटन क्षेत्रलाई सुरक्षित बनाउनतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।






