काठमाडौँ । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले वर्तमान सरकार राजनीतिक इतिहास, संसदीय अभ्यास र अनुभवको कमीका कारण समस्यामा परेको टिप्पणी गरेका छन् ।
बिहीवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजनीति इतिहासमा योगदान गरेर आएको नभई जोरजाम गरेर बनेको पार्टी भएको टिप्पणी पनि गरे । उनले सरकारले जनतासामु गरेको विश्वास र प्रतिबद्धताअनुसार काम गर्न नसकेको आरोप लगाउँदै जनतामा निराशा बढेको बताए। उनले जनताले आफ्नो दैनिक जीवन सहज हुने र परिवारको चुलो बल्ने अपेक्षा गरेपनि सरकारले त्यसअनुसारको वातावरण निर्माण गर्न नसकेको बताए । उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण गर्न समेत नसकेको आरोप लगाए ।
उनले भने,‘नेपालको राजनीतिक इतिहास, संसदीय अभ्यास र अनुभवको कमीको कारण वर्तमान सरकारमा समस्या आयो । यो समस्या हुनु पनि स्वभाविक हो । यो पार्टी भनेको कस्तो पार्टी हो भने हिजो नेपाली जनता, राष्ट्र र लोकतन्त्रको निम्ति कुनैपनि काम नगरिकन जोरजाम गरेर बनेको पार्टीबाट यस्तो स्थिति सिर्जना भयो । यसमा जनता निराश बनेका छन्, खुसी छैनन् । जनताले के भनिरहेका छन् भने कम्तिमा पनि हाम्रो चुलो बल्नुपर्थ्यो, बलेन भनिरहेका छन् । भर्खरै मात्र १० भदौमा आएको बाढीबाट समेत सरकारकै लापरबाहीको कारण सयौँ नागरिकको ज्यान गयो । त्यसकारण सरकारले जनतालाई देखाएको विश्वास र प्रतिबद्धताअनुसार काम गर्न सकेन ।’
सांसद राईले सरकारले विपद् पूर्वतयारी र प्रतिकार्य समेत प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाए।



