काठमाडौँ । हेटौँडा बजारमा जथाभावी पार्किङ र छरिएर सञ्चालन भइरहेका सुमो तथा बसका काउन्टरका कारण हुने सवारी चाप घटाउन उपमहानगरपालिकाले नयाँ व्यवस्थापनको तयारी थालेको छ ।
हेटौँडा–चौकीटोलस्थित रोपवे चौरलाई सुमो तथा अन्य सवारीसाधनको एकीकृत पार्किङ र टिकट काउन्टरका रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । हाल हेटौँडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टिसीएन रोड र सङ्गमचोकलगायतका स्थानमा सुमो तथा बसका काउन्टर सञ्चालनमा छन् । विभिन्न स्थानमा रहेका काउन्टरका कारण यात्रु चढाउने–ओराल्ने क्रममा सडकमा सवारी रोकिने र पार्किङको समस्या हुने गरेको छ ।
उपमहानगरपालिकाले अब यी सवारीसाधनलाई एउटै स्थानमा व्यवस्थापन गरेर बजार क्षेत्रको यातायात प्रणालीलाई व्यवस्थित गर्ने योजना अघि सारेको हो ।
चाडपर्वअघि ‘ट्रायल’, पछि स्थायी संरचना
रोपवे चौरमा तत्कालका लागि चाडपर्वलाई लक्षित गरेर अस्थायी रूपमा सवारी व्यवस्थापन गरिनेछ। त्यसका लागि चौरलाई पार्किङयोग्य बनाउन आवश्यकताअनुसार डोजर प्रयोग गरी सम्याउने तयारीसमेत गरिएको छ ।
सम्भवतः सोमबारदेखि नै रोपवे चौरबाट सुमोको काउन्टर सञ्चालन गर्ने तयारी रहेको उपमहानगरपालिकाले जनाएको छ । पछि भने त्यहाँ व्यवस्थित पार्किङस्थल निर्माण गरेर स्थायी रूपमा सञ्चालन गर्ने योजना छ ।
दैनिक करिब ४ सय सुमो
मकवानपुरको उत्तरी क्षेत्र तथा काठमाडौं ओहोरदोहोर गर्ने गरी हेटौँडाबाट दैनिक करिब ४ सय सुमो सञ्चालन हुने गरेको बताइएको छ । यी सवारीसाधनलाई एउटै स्थानमा व्यवस्थापन गर्दा यात्रुलाई पनि सहज हुने र बजार क्षेत्रमा सवारीको अनावश्यक आवतजावत तथा पार्किङ घट्ने अपेक्षा गरिएको छ ।
रोपवे चौरबाटै यात्रुले टिकट लिने र त्यहीँबाट सवारी छुट्ने व्यवस्था मिलाउने तयारी छ । यसले यात्रु र सवारी व्यवस्थापनलाई एउटै प्रणालीमा ल्याउने उपमहानगरपालिकाको योजना छ ।
विचौलियाको प्रभाव घटाउने अपेक्षा
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले सवारी काउन्टरलाई एउटै स्थानमा ल्याउँदा बजारको ट्राफिक व्यवस्थापन सहज हुने बताइन् । उनकाअनुसार छरिएर सञ्चालन भइरहेका काउन्टरका कारण उत्पन्न हुने समस्या र बिचौलियाको प्रभावसमेत घट्ने अपेक्षा गरिएको छ । २०७५ सालमै रोपवे चौरको बसपार्क उद्घाटन गरिएको भए पनि कोभिड–१९ का कारण त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिएको उपमहानगरपालिकाको भनाइ । अब भने सोही स्थानलाई पुनः सक्रिय बनाएर दीर्घकालीन रूपमा व्यवस्थित पार्किङ तथा यातायात केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पनि रोपवे चौरमा सवारी व्यवस्थापन गर्ने योजनालाई व्यवसायीले सहयोग गर्नुपर्ने बताए। उनले प्रभावकारी व्यवस्थापनका लागि प्रहरीको निगरानीसँगै सम्बन्धित सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिए।
रोपवे चौर सञ्चालनमा आएपछि हेटौँडाको मुख्य बजार क्षेत्रबाट सुमो काउन्टर हट्ने र सवारीसाधन एकीकृत रूपमा सञ्चालन हुने भएकाले यसले बजारको ट्राफिक व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ ।



