नारायणगढ (चितवन) । दसैँ-तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । बिदापछि अस्पतालको बहिरङ्ग सेवा(ओपिडी)सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि बन्द वा सीमित सञ्चालनमा रहेकाले सरकारी अस्पतालमा बिरामीको चाप बढेको उनले बताए। बुधबार पनि अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको उनको भनाइ छ ।
उनका अनुसार गत वर्ष २०८२ को कात्तिक महिनामा आकस्मिक, स्वास्थ्य बीमा र सामान्य टिकटमार्फत गरी २९ हजार ४२२ बिरामीले सेवा लिएकामा यस वर्ष सोही अवधिमा ३९ हजार २०० जनाले सेवा लिएका छन् ।
गत वर्ष असोजमा २९ हजार २८१ बिरामीले सेवा लिएका थिए । यस्तै, गत वर्ष कात्तिकमा आकस्मिक सेवामा छ हजार २५९ बिरामी आएकामा यस वर्ष उक्त सङ्ख्या बढेर सात हजार ४९५ पुगेको छ । अस्पतालमा आउने बिरामीमध्ये करिब ६० देखि ७० प्रतिशत स्वास्थ्य बीमामार्फत सेवा लिने छन् । ओपिडीमा सबैभन्दा बढी चाप मेडिसिन र अर्थोपेडिक्स विभागमा रहेको प्रवक्ता सापकोटाले बताए ।
आन्तरिक मेडिसिन विभागमा दैनिक ३०० देखि ४०० सम्म बिरामी आउने गरेको र कहिलेकाहीँ यो सङ्ख्या ५०० देखि ६०० सम्म पुग्ने गरेको उनले जानकारी दिए ।
सरकारी अस्पतालमा निजी अस्पतालको तुलनामा उपचार खर्च कम हुनु, स्वास्थ्य बीमाको सुविधा उपलब्ध हुनु र अस्पतालले प्रदान गर्ने सेवाप्रति बिरामीको विश्वास बढ्नुले पनि बिरामीको आकर्षण बढेको उनको भनाइ छ ।





