काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित थापा पोलिक्लिनिकमा उपचारका क्रममा महिला बिरामीको गोप्य अंग छोएको आरोपसम्बन्धी घटनाको छानबिन गर्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँच सदस्यीय समिति गठन गरेको छ।
असोज १७ गते भएको घटनाबारे अनलाइन उजुरी परेपछि अनुसन्धान गरी सत्यतथ्य विवरण पेस गर्न समिति गठन गरिएको परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सम्बन्धित महिलाले करणीसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारीले जनाएका छन्।
प्रहरीका अनुसार जाहेरीका आधारमा पोलिक्लिनिकका सञ्चालकसमेत रहेका कोहलपुर नगरपालिका–११ का ६३ वर्षीय गणेशबहादुर थापालाई नियन्त्रणमा लिइएको छ। बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ।
थापासँग सीएमए प्रमाणपत्र मात्र रहेको र उपचारका लागि आवश्यक इजाजत नभएको प्रहरीले जनाएको छ। नेपाल मेडिकल काउन्सिलको ‘आचारसंहिता तथा व्यावसायिक आचरण, २०१७’ विपरीत कार्य गरेको आरोपसम्बन्धी पक्षमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
घटनामा प्रहरीले फौजदारी अनुसन्धान अघि बढाएको छ भने परिषद्ले उजुरीका आधारमा छुट्टै छानबिन प्रक्रिया सुरु गरेको छ।





