काठमाडौँ । कालीगण्डकी नदीको बाढीले अवरुद्ध बेनी-जोमसोम-कोरला सडकको पुनर्निर्माण तथा मर्मतमा प्रयोग हुने उपकरणका लागि ड्रोनमार्फत करिब ४०० लिटर डिजेल पुर्याइएको छ।
पूर्वाधार विकास मन्त्री सुनील लम्सालका अनुसार नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म इन्धन ढुवानी गरिएको हो।
सडक अवरुद्ध हुँदा निर्माण तथा मर्मतमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा समस्या भएको थियो।
ड्रोनबाट डिजेल पुर्याएपछि महभीर, भीरकाटे र पोखरेबगर क्षेत्रमा भइरहेको कामलाई निरन्तरता दिन सहज भएको मन्त्री लम्सालले जानकारी दिएका छन्।
बाढीबाट क्षतिग्रस्त सडक खण्डमा पुनर्निर्माण तथा मर्मत जारी छ। सडक भने पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको जनाइएको छ।



