काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा गुरुराज घिमिरे र अमरसिंह पुनले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत दुवै नेताले खुलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएका हुन्।
घिमिरे हाल काँग्रेस महामन्त्री हुन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका उनी १५औँ महाधिवेशनमा सोही जिम्मेवारीमा निरन्तरताका लागि पुनः प्रतिस्पर्धामा उत्रिएका छन्।
विशेष महाधिवेशनबाट घिमिरेसँगै महामन्त्री निर्वाचित प्रदीप पौडेलले पनि पुनः महामन्त्रीमै उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रदेश नेतृत्वबाट केन्द्रमा पुन
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन्। काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए।
पुन गत पुसमा सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय भएका नेतामध्ये एक हुन्। १५औँ महाधिवेशनअघि नै उनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दै केन्द्रीय नेतृत्वमा रहेर काम गर्ने चाहना सार्वजनिक गरेका थिए।
रोल्पाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका पुन प्रदेश सभापतिको जिम्मेवारीबाट अब पार्टीको केन्द्रीय पदाधिकारी तहको प्रतिस्पर्धामा उत्रिएका हुन्।



