काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो।
झन्डै दुई दशकको बैंकिङ अनुभव
रेग्मीले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
बैंकमा रहँदा उनले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
रेग्मी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षसमेत रहिसकेका छन्।
उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।
एक हजारभन्दा बढी सेवा केन्द्र
ग्लोबल आइएमई बैंकले मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको जनाएको छ। बैंकका अनुसार हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।
बैंकले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकिङ अवार्डसमेत प्राप्त गरेको जनाएको छ।



