काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठनभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले आफूमाथि लगाइएका विभिन्न आरोप निराधार रहेको बताएका हुन्।
पछिल्लो समय आफ्नो नाम जोडेर एक महिलासँगको भनिएको अडियो सार्वजनिक भएपछि सुनारले त्यसको खण्डन गरेका छन्। उनले उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधिको प्रयोग गरी तयार पारिएको दाबी गरेका छन्।‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको छु,’ सुनारले भनेका छन्, ‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ। आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा हुन्।’
उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न सम्बन्धित राजनीतिक दल र सरकारलाई आग्रह गरेका छन्। आरोपहरूको निष्पक्ष अनुसन्धानबाट वास्तविकता बाहिर ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।
भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई लक्षित गरी चरित्रहत्या गर्ने प्रयास भइरहेको उनको दाबी छ। यस्ता गतिविधिबाट आफू विचलित नहुने संकेत गर्दै उनले जुनसुकै छानबिनको सामना गर्न तयार रहेको बताएका छन्।
‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले भनेका छन्।
सुनारले सामाजिक सञ्जालमा फैलिएका सामग्रीका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई अपिलसमेत गरेका छन्। आफूमाथि लागेका आरोपको सत्यतथ्य पत्ता लगाउन गरिने अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।



