काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन् । सभापति थापाले पार्टी सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता व्यक्त गरे । पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै उनले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने औँल्याए । नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै सभापति थापाले दशैँको फूलपातीकै दिन समेत हजारौँ युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन बाध्य हुनु राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय भएको बताए । उनले रातारात चमत्कार गर्न नसकिए पनि स्वदेशमै युवाहरूलाई स्वाभिमानका साथ बाँच्ने वातावरण निर्माण गर्न काँग्रेसले आफ्ना तर्फबाट इमान्दार प्रयत्न थाल्नुपर्ने बताए । पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने र व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै थापाले अन्य नेता तथा कार्यकर्ताहरूलाई अब कोठाभित्र बसेर निराशाको गन्थन नगर्न निर्देशन दिए ।
सभापति थापाले भने, ‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु । मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ । त्यसैले, कुनै दिन म चुकेको महसुस भएमा नेपाली काँग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन । पार्टी सार्वजनिक सम्पत्ति हो, जहाँ हजारौँ मानिसको रगत, पसिना र योगदान जोडिएको हुन्छ । व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो । आज दशैँको फूलपातीका दिन हजारौँ युवाहरू देश छोडेर विदेश जाँदैछन् । हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्न सक्छौँ ।’
सभापति थापाले पार्टीका तल्ला तहका कार्यकर्ता र आम नागरिकका सुख-दुःखमा प्रत्यक्ष जोडिन तथा निराशालाई चिरेर सकारात्मक ऊर्जा प्रवाह गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान समेत गरे ।




