रियो डी जेनेरियो । ब्राजिलमा राष्ट्रपति निर्वाचनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लेभियो बोल्सोनारो आइतबार पहिलो टेलिभिजन बहसमा आमनेसामने हुँदै छन् । अर्थतन्त्र, भ्रष्टाचार र सुरक्षा प्रमुख चुनावी मुद्दा बनेका छन् ।
पूर्व राष्ट्रपति जायर बोल्सोनारोका ४५ वर्षीय छोरा फ्लेभियोले पहिलो चरणको मतदानमा लुलालाई पछि पारेका थिए । पछिल्ला दुई सर्वेक्षणमा उनको अग्रता घटेर ५१ प्रतिशतमा झरेको छ भने लुलाको समर्थन ४९ प्रतिशत देखिएको छ ।
बहसअघि दुवै पक्षले देशभर र्याली निकालेका छन् । साओ पाउलोमा फ्लेभियोको समर्थनमा भएको र्यालीमा करिब ७१ हजार सहभागी भएको साओ पाउलो विश्वविद्यालयका पर्यवेक्षकले बताएका छन् । रियो डी जेनेरियो र राजधानी ब्रासिलियामा लुलाका समर्थकले पनि प्रदर्शन गरेका छन् । गायक केटानो भेलोसोले रियोमा लुलाको समर्थनमा ‘लोकतन्त्रका लागि र्याली’ को नेतृत्व गरे ।
एकासी वर्षीय लुलाले कामदारलाई सातामा दुई दिन तलबसहित बिदा, साना उद्यमीको ऋण मिनाहा, विश्वविद्यालय छात्रवृत्ति र इन्धन कर हटाउने प्रतिबद्धता जनाएका छन् । बढ्दो सार्वजनिक ऋणका कारण उहाँका खर्चिला योजनाको आलोचना भइरहेको छ । फ्लेभियोले भने अपराध नियन्त्रणलाई प्राथमिकता दिँदै जेलमा रहेका आफ्ना बुबालाई मुक्त गराउने वाचा गरेका छन् ।
सन् २०२२ को निर्वाचनपछि विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति जायर बोल्सोनारोप्रति रूढिवादी मतदाताको समर्थन कायम छ । अर्थतन्त्र, भ्रष्टाचार, सामाजिक कल्याण र सुरक्षाका मुद्दाबीच हुन लागेको पहिलो बहसलाई दुवै उम्मेदवारका लागि महत्त्वपूर्ण मानिएको छ ।



