काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५, फर्पिङस्थित बसपार्कबाट प्रहरीले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
आज बिहान करिब ४:३० बजे इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको ट्रामाडोल फेला पारेको हो।
प्रहरीले लागुऔषधसहित बारा जिल्ला, कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्सा जिल्ला, वीरगन्ज उपमहानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनीलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



