नयाँदिल्ली, भारत। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा उनी बिहीबार नयाँदिल्ली पुगेका हुन् ।
समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा सहभागी छन्।
यसअघि अर्थमन्त्री वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए । बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबीच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको थियो।
त्यसैगरी, भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको समिटको विशेष सत्रमा पनि अर्थमन्त्री वाग्ले सहभागी भएका थिए । सो क्रममा बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा वाग्ले र जयशंकरबीच रोचक प्रश्नोत्तरसमेत भएको थियो।



