काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा कैलालीका एक बाल विकास सहयोगी कार्यकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले कैलालीको बर्दगोरिया गाउँपालिका-४ स्थित श्री जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बाल विकास सहयोगी कार्यकर्ता (शिक्षक) हरिराम डंगौरियाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
आयोगका अनुसार डंगौरियाले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनले श्री मालिका माध्यमिक विद्यालय, चौमाला, कैलालीबाट एसएलसी उत्तीर्ण गरेको भनी एसएलसीको मार्कसिट र चारित्रिक प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ।
उक्त प्रमाणपत्रका आधारमा उनले ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको आरोप छ।
आयोगले डंगौरियाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर भएको दाबी गर्दै सोही ऐनको व्यवस्थाअनुसार सजायको मागदाबीसहित आरोप पत्र दायर गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा डंगौरियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको उल्लेख छ।




