काठमाडौँ । गुल्मीको काली गण्डकी गाउँपालिका-२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार बुधवार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो काली गण्डकी करिडोर सडक खण्ड अन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेको हो।
दुर्घटनामा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका-२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका-१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको काली गण्डकी गाउँपालिका-१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे र सीता पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, काली गण्डकी गाउँपालिका-१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी नीता बगालेको काली गण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा गुल्मीको काली गण्डकी गाउँपालिका-१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका-१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।
घाइतेमध्ये छविलाल पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई काली गण्डकी सामुदायिक अस्पताल, मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रेफर गरिएको छ।
गोमता पाण्डेको मिसन अस्पताल, पाल्पामा उपचार भइरहेको छ। त्यस्तै, बालकृष्ण सुवेदीलाई काली गण्डकी सामुदायिक अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ। गोमता र बालकृष्ण दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै परिचालित उद्धार टोलीले घटनास्थलबाट मृतक तथा घाइतेको उद्धार गरी विभिन्न अस्पताल पुर्याएको थियो। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।




