काठमाडौँ । सुतार कार्की सेवा समितिले देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक गरेको छ ।
समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी वंशावलीको पुस्तक वंशार्पण गरेको हो । देशभर पाँच लाख भन्दा बढी सुतार कार्की रहेको र सकेसम्म सबैको वंशावली पुस्तकमा समेट्ने प्रयास गरिएको समितिले जनाएको छ ।
समितिको वंशावली तयार पार्न सुतार कार्की वंशावली संकलन, लेखन, सम्पादन तथा प्रकाशन समिति गठन गरेको थियो । सो समितिले लामो समय लगाए पुस्तक तयार पारेको जनाइएको छ । उक्त पुस्तकले सुतार कार्की वंशको इतिहास, पुर्खाको पहिचान, पारिवारिक सम्बन्ध तथा ऐतिहासिक दस्ताबेजलाई भावी पुस्तासम्म संरक्षण र हस्तान्तरण गर्ने उद्देश्य राखेको छ ।
वंशावली प्रकाशनले आफ्नो पुर्ख्यौली इतिहास, संस्कृति, परम्परा र वंशीय पहिचानलाई अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने समितिले विश्वास गरेको छ । समारोहमा सुतार कार्की परिवारका सदस्य, अग्रज, बुद्धिजीवी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाई पुस्तक वितरण गरिएको थियो भने विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।




