काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई १२ करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ।
बोर्डले शुक्रबार कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता साधारण सेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो।
कम्पनीले निष्कासन गर्न लागेको सेयर कुल जारी पुँजीको २० प्रतिशत हो। बाँकी ८० प्रतिशत अर्थात् ४८ लाख कित्ता सेयर संस्थापक समूहको स्वामित्वमा रहनेछ।
कम्पनीको कुल जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ। त्यसमध्ये सर्वसाधारण समूहबाट १२ करोड रुपैयाँ पुँजी सङ्कलन गर्ने तयारी गरिएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले पाएको छ। बोर्डबाट अनुमति प्राप्त भएसँगै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ।
यद्यपि, सेयर निष्कासन खुल्ने मिति तथा आवेदनसम्बन्धी विस्तृत तालिका सार्वजनिक भइसकेको छैन। कम्पनीले स्वीकृत विवरणपत्र अनुसार निष्कासनको प्रक्रिया अघि बढाउनेछ।
यसअघि बिहीबार मात्रै धितोपत्र बोर्डले कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई पनि आईपीओ निष्कासनको अनुमति दिएको थियो।





