काठमाडौँ। जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहीन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।
लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहीन दलित, २६ भूमिहीन सुकुम्वासी, कटारी नगरपालिकाका ४ भूमिहीन दलित, ७ भूमिहीन सुकुम्वासी र बेलका नगरपालिकाका ८ भूमिहीन दलित, ३२ भूमिहीन सुकुम्वासी परिवार रहेका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
त्यस्तै धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं ५ का ३ भूमिहीन दलित र ३ भूमिहीन सुकुम्वासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।





