काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन्।
एमालेको बागमती प्रदेश संगठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका हुन् ।
त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।
एमालेका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए । बैठक आइतबारसम्म सञ्चालन हुनेछ ।





