काठमाडौँ । नेकपा एमाले बुटवल उपमहानगर कमिटीअन्तर्गतको ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य गोविन्दप्रसाद पन्थीको सोमबार ८६ वर्षको उमेरमा निधन भएको छ ।
लामो समय एमालेको राजनीतिमा सक्रिय पन्थी राजनीतिक आन्दोलनका बेला पार्टीका नेता तथा कार्यकर्तालाई आश्रय दिने व्यक्तिका रूपमा परिचित थिए ।
अर्घाखाँचीको साविक भगवती गाविस, हालको छत्रदेव गाउँपालिका-७ मा १९९७ साल भदौ ४ गते जन्मिएका पन्थी २०६५ सालदेखि बुटवल उपमहानगरपालिका-१३ बेलवासमा बस्दै आएका थिए ।
एमालेले सोमबार दिउँसो पन्थीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले केन्द्रीय कमिटी सदस्य चेतनारायण आचार्यसहित पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । आचार्य पन्थीका ज्वाइँ हुन् । कार्यक्रमको संयोजन एमाले बुटवल उपमहानगरपालिका-१३ वडा कमिटीका अध्यक्ष दिपक पन्थीले गरेका थिए ।
पन्थीका श्रीमती मनकला, एक छोरा, पाँच छोरी र १४ नातिनातिना छन् ।






