रुकुम पूर्व । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका विरुद्धमा विपक्षीबाट तानाबाना बुन्ने काम भइरहेको आरोप लगाएका छन् ।
रुकुमपूर्वको रुकुमकोटमा आज आयोजित प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले सरकारलाई असफल बनाउन सरकार विरुद्ध विभिन्न तानाबाना बुन्न थालिएको प्रति असन्तुष्टि व्यक्त गरे ।
‘वर्तमान सरकार जनताको मत र विश्वासमा बनेको हो’, उनले भने,’हामी समृद्धिको यात्रामा छौं, केही चिच्याउँदैमा, विरोध गर्दैमा केही फरक पर्दैन ।’ २ तिहाइको मतमा बनेको सरकार समृद्धिको यात्रामा अग्रसर रहेकाले पनि साना तिना जालझेलका पछाडि नलाग्ने उनले स्पस्ट पारे ।
सरकार आफ्नो प्रतिबद्धताअनुसार अगाडि बढिरहेको बताउँदै उनले सरकार सामाजिक सुरक्षाका हिसाबले गम्भिर रहेको जानकारी गराए । यसैबीच भौगोलिक विभाजनका क्रममा कान्छो जिल्ला बने पनि रुकुम पूर्व विकासमा अग्रसर जिल्ला बन्नुपर्नेमा उनले जोड दिएका छन्।