भोजपुर । जिल्ला अदालतले आज विभिन्न मुद्दाका ५ जनालाई जेल चलानको फैसला सुनाएको छ ।
अदालतले कर्तव्यज्यान मुद्दामा रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैदसहित एक लाख जरिवानाको फैसला गरेको छ । अभियुक्त राईले गत कात्तिक २४ गते ४७ वर्षीय दिदीलाई कुखुराको खोरको ढोका लगाउन प्रयोग गरिने काठले टाउकामा हिर्काएर हत्या गरेको अदालतले जनाएको छ ।
अदालतले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई सोही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । यस्तै २६ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा अरुण गाउँपालिका–४ चरम्वीका सन्तोष विश्मकर्मालाई ६ वर्ष कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । विश्वकर्माले गत असोज ६ गते सोही ठाउँकी युवतीलाई करणी गरेका थिए ।
बहुविवाहको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका प्रवीन श्रेष्ठ र भोजपुर नगरपालिका–१ बस्ने इन्दिरा तामाङलाई १ वर्ष ६ महिना कैद सजायसहित रु १५/१५ हजार क्षतिपूर्तिको फैसला गरेकोे छ । श्रेष्ठ र तामाङले गत कात्तिक ७ गते विवाह गरेका थिए । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजिलासले सो आदेश दिएको हो ।