काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकको समृद्धिको संवाहक तीनै तहका सरकार भएको बताएका छन् ।
धुलिखेल नगरपालिकाको २३औँ स्थापना दिवस तथा साक्षर नगरपालिका घोषणा कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘सुखी नेपाली र समृद्ध नेपालको संवाहक केन्द्र सरकार मात्र हैन, प्रदेश सरकार र स्थानीय तह पनि हुन् ।’ उनले तीनै तहका सरकार समृद्धिको अभियानमा दत्तचित्त रहनुपर्ने आवश्यकता औँल्याए ।
उनले तीनै तहका सरकारले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हरेक दिन एक पाइला अघि बढ्नुपर्छ’ भन्ने मान्यतालाई सरकारका प्रतिनिधिले अंगाल्नुपर्ने मन्त्री बाँस्कोटाले बताए ।
‘प्रमको मान्यतालाई अंगाल्दै तीव्र गतिमा परिवर्तन गर्नु जरुरी छ, यसमा स्थानीय तह पनि कर्तव्यबोधका साथ अघि बढोस्’, उनले भने, ‘कुनै पनि देश एकैपटक विकसित भएको छैन ।’ कैयौं हण्डर र ठक्कर खाएर मात्रै अन्य मुलुक समृद्ध बनेका उनको भनाइ थियो ।
नवनिर्माणको यस चरणमा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर वर्तमान सरकारले मजबुत, सुदृढ र दीगोपनका साथ विकास गर्ने उनले बताए। वर्तमान सरकारको एक वर्षको अवधिमा आलोचनासँगै सुझाव पनि आएकाले जनताको अपेक्षा पूरा गर्नेगरी आफूहरुले काम गर्ने मन्त्री बाँस्कोटाले बताए ।
मन्त्री बाँस्कोटाले सो अवसरमा धुलिखेललाई साक्षर नगरपालिका घोषणा गरी साक्षर नगरपालिकाको स्तम्भको उद्घाटन गरे । उनले ‘धुलिखेल नगरका नक्षेत्र’ पदकबाट कलाकार गौरीशङ्कर धुजू र देवमञ्जिल खोजु तथा ‘धुलिखेल रत्न’ पदकबाट काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्मालाई सम्मान गरे ।
कार्यक्रममा दक्षिण एशियाली पर्यटन प्रवर्द्धन सङ्गठनका महासचिव किम सो ईलले धुलिखेल नगरपालिका नेपालकै विकासोन्मुख नपा भएकाले दक्षिण एशियाको पर्यटकीय सम्भावना बोकेको नगर भएको दाबी गरे ।
दक्षिण कोरियाको उल्झिन नगरपालिकाका प्रमुख जोल सान इलले नेपालको संस्कृति फरकफरक भए पनि मानिसको बाँच्ने शैली एउटै देखिएको बताए । पर्यटकीय एवं सांस्कृतिक नगरी धुलिखेलसँग भगिनी सम्बन्ध गाँस्न पाएकामा उनले खुशी व्यक्त गरे ।
सो अवसरमा नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले नपाले हालसम्मका गतिविधिको जानकारी दिँदै नगरका भूमिहीन परिवारलाई जमीन खरीद गर्न रु दुई लाख उपलब्ध गराउने, नगरमा थप १२ उद्यान निर्माण गरिने, नगरमा शुरु गरिएको फ्रि–वाइफाइ सबै वडासम्म पु¥याइने तथा धुलिखेलका पूरातात्विक महत्वका संरचना पुनःनिर्माण भइरहेको जानकारी दिए ।







