सर्लाही । आगलागीबाट सर्लाहीमा ६० लाखको क्षति भएको छ । सर्लाही सदरमुकाम मलंगवा–१० स्थित आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएका छन् ।
बुधबार मध्यरातमा आगलगी हुँदा राजनारायण ठाकुर र प्रमोद ठाकुरको फर्निचर उद्योग, हुसैनी मुकेरीको सिरक–डसना बनाउने पसल र त्यसमा रहेको मेसिन, राम किसुन पण्डितको किराना पसल, पिन्टु यादवको फ्याक्स प्रिन्ट बनाउने समान र शम्भु ठाकुरको शैलुन जलेर नष्ट भएको छ ।
बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लागेको प्रहरीले जनाएको छ । स्थानीय सबै सुतेपछि लागेको आगोले ठूलो नोक्सान भएको छ । राति करिब १ बजे थाहा पाएको स्थानीयले बताएका छन् ।
आगलगीमा राजनारायणको २५ लाख, प्रमोदको १५ लाख मुकेरीको ४ लाख, रामकिशुनको १० लाख, शम्भुको २ लाख ५० हजार र पिन्टुको ३ लाख बराबरको क्षति भए छ ।
आगोलाई दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा बिहीबार बिहान साढे दुईबजेपछि मात्रै नियन्त्रणमा लिइएको थियो ।






