काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवन र धर्तीलाई अुनकूल हुने गरी एकीकृत वातावरणमैत्री बस्ती विकास योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएकी छिन् ।
‘कोप २४’ मा नेपालको सहभागिता र उपलब्धिबारे आज वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति भवन, शीतल निवामा आयोजना गरेको समीक्षा कार्यक्रममा उनले जलवायु अनुकूलनका लागि व्यापक दायरामा राखेर हेरी जीवन र न्यायसँग जोडिएका सबै पक्षलाई समेट्न जरुरी रहेको बताएकी हुन् ।
‘पहिला जीवनलाई टेवा दिऔँ । त्यसपछि विकासको कुरा हुन्छ । विकासले जीवनलाई सहज बनाउने हो ।’वातावरणीय अनुकूलनका लागि सरकार र सरोकारवालाहरुलाई सुझाव दिँदै उनले भनिन्, ‘स्वास्थ्य र जीवन मूल्यका लागि हानिकारक छ भने विकासका ढाँचाहरुबारे विचार गर्नुपर्छ ।’
राष्ट्रपतिले वातावरणविज्ञ र वैज्ञानिकहरूले गरेको अनुसन्धानको निस्कर्षको उल्लेख गर्दै बढ्दो तापक्रमका कारण धर्ती हाम्रो जीवनको प्रतिकूल बन्दैछ भन्ने त्रास बढिरहेको समेत बताइन् ।
वातावरणीय सन्तुलन र विकासका काममा निरन्तर संवाद गरी सही निष्कर्षमा पुगी काम गर्नमा जोड दिँदै उनले विश्वका शक्तिशाली मुलुकका नेताहरुँग आफूले चासो व्यक्त गर्ने गरेको उल्लेख गर्दै भनिन्, ‘भावी सन्तति र जनस्वास्थ्यको चिन्ताविना मानिसहरु आफ्नो दुनो सोझ्याउन लागि परेका छन्, मानिस नाफामुखी भएका छन् ।
हामी हाम्रो भावी पुस्तालाई कस्तो धर्ती उपहार दिँदैछौँ भन्ने कुरा सोचेर विकास आयोजना तय गर्नुपर्छ । विकासलाई समष्टिगतरुपमा हेर्नुपर्छ । अर्कालाई मारेर दिगो विकास सम्भव छैन । जस्तो धर्ती छ त्यस्तै खाले विकास गर्नुपर्छ ।’
राष्ट्रपति भण्डारीले वातावरणमैत्री विकासका लागि सरकारले जनचेतना जागृत गराउनुपर्नेमा जोड दिदै हिमाल र नदी प्रणालीलाई आजैदेखि जोगाउन आग्रह गर्दै सार्वजनिक जग्गा र नदीहरुलाई अतिक्रमणबाट जोगाउन सुझाव दिइन्।
छलफलमा सहभागी वनमन्त्री शक्तिबहादुर बस्नेतले ‘कोप २४’ मा नेपालले यस क्षेत्रबारे आफ्नो अवस्था र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा राखिएको उल्लेख गर्दै वातावरणीय प्रणालीलाई सन्तुलनमा राख्न हिमाल र समुद्रलाई जोड्ने नदी प्रणालीको योगदानलाई दरोसंग स्थापित गर्न आवश्यक रहेको बताए ।
मन्त्री बस्नेतले प्रकृति र जनजीवनमाथि परेका प्रभावलाई एकीकृत गर्न हरित अर्थतन्त्र र हिमाली अर्थतन्त्रमाथि बहस चलाउन जोड दिँदै एकापसमा जोडिने विषय ९क्रस कटिङ० निकायको निर्माणबारे पनि सोच्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव डा। विश्वनाथ ओलीले सो सम्मेलनले नेपालले जलवायुप्रतिको राजनीतिक प्रतिबद्धता र त्यसमा नेपालको गम्भीरता स्पष्ट पारेको जनाउँदै सरकारले राष्ट्रिय, प्रादेशिक र स्थानीय अनुकूलन योजना तर्जुमा गर्ने तयारी भएको बताए ।
सहसचिव महेश्वर ढकालले काटोविचेमा सम्पन्न कोप २४ मा सहभागी भएपछि ती एजेण्डाहरुको घरेलुकरण गर्न चालिएका कदम र कार्यक्रमबारे प्रस्तति दिएका थिए ।
गत अक्टोबर २ देखि १४ डिसेम्बर, २०१८ मा पोल्याण्डको काटोविचेमा ‘कोप २४’ सम्मेलन भएको थियो । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति भण्डारीले गरेका थिए ।







