बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानको सत्ताधारी पार्टीका सांसदहरुबीच भेटवार्ता भएको छ । सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहसँग आज बिहान भेट वार्ता भएको हो ।
भेटमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताएकी छन् । उनले जापान सरकारबाट भएका काम राम्रा र स्तरीय भएको भनी प्रशंसासमेत गरिन्।
उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको र नेपालमा महिला सशक्तीकरणका प्रयासका उदाहरण महिला स्वयं राष्ट्रपति भएकोबाट प्राप्त हुने र यसबाट जापानले पनि सिक्नसक्ने बताए ।
भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।







