काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि हरेक दिन काठमाडौ–दिल्ली दुई उडान सुरु गरेको छ । भारतीय विमान कम्पनी जेट एयरलाइन्सको उडान बन्द हुँदा यात्रुको चाप बढ्नथालेपछि निगमले उडान बढाएको हो ।
यस अघि हप्तामा ११ वटा उडान गर्दै आएको निगमले अबदेखि हप्तामा १४ वटा उडान गर्ने भएको छ ।
निगमले आवश्यकता अनुसार भारतका अन्य ठाउँको उडानपनि बढाउने तयारीमा रहेको बताएको छ ।
दुईवटा वाइडबडी र दुईवटा न्यारो बडीबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले जहाज अभावका कारण थप गन्तव्य बढाउन समस्या भइरहेको बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्नका लागि अहिले राति १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णतः उडान बन्द गरेर नोटाम जारी भएकोले उडान विस्तारमा असर परिरहेको छ ।
निगमले हाल विभिन्न आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यसबाहेक करिब डेढ दशकपछि आगामी असार १९ गते निगमले जापानको ओसाकामा उडान गर्ने तयारी गरेको छ । ओसाका उडानको तालिकासमेत निगमले सार्वजनिक गरिसकेको छ ।
निगमकाअनुसार त्यहाँ हप्तामा तीनवटा उडान हुनेछ । निगमले दिल्लीबाहेक भारतको मुम्बई र बेङ्गलोरमा उडान गरिरहेको छ ।







