काठमाडौँ । सञ्चारमाध्यम सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटीले प्रेस स्वतन्त्रतामाथि कालो बादल मडारिन थालेकोले सचेत रहन भनेको छ ।
नेपाल मिडिया काउन्सिल विधेयकको विरोध गर्दै सोसाइटीका अध्यक्ष शुभ शंकर कँडेलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ के यस्तै गणतन्त्र ल्याउन नेपाली मिडिया लडेका थिए ?
यो कस्तो प्रेस स्वतन्त्रता हो ? राज्यको कार्यशैलीप्रति के पत्रकारले प्रश्न गर्न पनि पाउँदैन ? विज्ञप्तिमा भनिएको छ, सरकारका कतिपय गलत नीतिकै कारण आर्थिक रूपमा शिथिल हुँदै गए पनि नेपालका स्थापित मिडिया हाउस र क्रियाशील पत्रकारहरूले निरन्तर लोकतान्त्रिक मूल्यमान्यताका लागि सधैँ सङ्घर्ष गरिरहेका छन् ।
नेपाल मिडिया काउन्सिल विधेयक वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेस गर्न स्वीकृति दिइसकेको छ।
प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकको दफा १८ मा ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ उल्लेख छ।
हेर्नुस् विज्ञप्ति







