हुम्ला । दुई महिनादेखि जिल्ला मालपोत कार्यालय हुम्लामा प्रमुख नहुँदा सम्पूर्ण कामकाज रोकिएका छन् । कार्यालय प्रमुख सरुवा भएर गएको र सरकारले नयाँ कार्यालय प्रमुख नपठाउँदा कामकाज रोकिएका हुन् ।
मालपोत जस्तो बढी काम हुने कार्यालयमा दुई महिनासम्म प्रमुख विहीन बनाएर काम काज प्रभावित हुँदासम्म कसैले ध्यान नदिनु जनताका लागि अभिसाप भएको छ ।
गत चैत्र पहिलो हप्ता तत्कालीन कार्यालय प्रमुख काम विशेषले काठमाडौं गएको र उनलाई त्यतैबाट कलंकी मालपोतमा सरुवा भएपछि फिर्ता नआएको हाल करारमा जागिर खादै आएका कम्प्युटर अप्रेटर मिमसिंह नेपालीले बताए ।
आएका काम गर्न सकिने भए पनि करारलाई काम गर्न नदिएकोले आउने सेवाग्राहीलाई रित्तो हात फर्काउने गरिएको उनले बताए । बिदाको दिन बाहेक अन्य दिनमा दैनिक जग्गाको कारोवार गर्ने सेवाग्राहीको घुईचो लाग्ने गरेको र सबैलाई रित्तै हात फर्काउने गरेको निमित्त प्रमुख नेपालीले बताए ।
मन्त्रालयमा कार्यालय प्रमुखको व्यवस्थापनका लागि जानकारी लिन खोज्दा हुन्छ भन्ने जवाफ मात्र आउने गरेको उनले बताए ।
यस अघि मन्त्रालयले दुई जनालाई सरुवा गराएकोमा दुबै जनाले जिल्लामै नआएर अन्तै सरुवा गरेको र अबको एक हप्तामा कर्मचारी जिल्लामा खटाई सक्ने जानकारी मन्त्रालयले दिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।







