काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ परेकी छन् । उनका सहयोगी सुमनसिंह पौडेलसहित भुजेललाई सुनसरीको बरोलाबाट शनिबार बिहान पक्राउ गरिएको हो ।
१ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरो संयुक्त टोलीले भुजेललाई पक्राउ गरेको हो। भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद गरिएको एक प्रहरी अधिकारीले बताएका छन् ।
अन्तरिम व्यवस्थापिकामा सांसद्समेत रहेकी भुजेल तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि थिइन्। भुजेलसहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो।







