काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्स’ मार्फत एकैसाथ मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्ने भएका छन् । भारतले एक अर्ब १४ करोड रुपैयाँ लागतमा निर्माण गरिदिएको जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।
उद्घाटनपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र भारतबाट सामान बोकेको ट्रक नेपालतर्फ ट्रक भित्रने छ। भारतको सिमाना नजिकै १२९ विघा क्षेत्रफलमा जाँचचौकी निर्माण गरिएको हो। भारततर्फको जाँचचौकी भने पहिले नै तयार भइसकेको छ।
नेपालतर्फ बनेको जाँचचौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको छ। यो जाँचचौकी निर्माण गर्न नेपालले भारतसँग सन् २००६ मै सम्झौता गरेको थियो। तर सन् २०१६ देखि मात्र भारतले जाँचचौकी निर्माण थालेको थियो। निर्माण थालेको झण्डै पाँच बर्षपछि भारतले नेपाललाई आइसीपी हस्तान्तरण गरेको हो। यो जाँचचौकी निर्माणका लागि नेपालले भारतलाई २०७३ मंसिर २० गते जग्गा हस्तान्तरण गरेको थियो।
अबदेखि विराटनगर भन्सार कार्यालयबाट हुने गरेका सबै कारोबार यही जाँचचौकीबाट हुनेछन्। जाँचचौकीमै नेपाल–भारत आयात निर्यात हुने सामानको विषादी परीक्षणसमेत हुनेछ। जाँचचौकीमा कार्गो, यात्रु टर्मीनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, क्वारेन्टाइन, कोल्ड स्टोरेज, क्लियरिङ एजेन्ट, बैंक, सीसीटीभी, पार्किङ, रेस्टराँलगायत सार्वजनिक सुविधायुक्त संरचनाहरु निर्माण गरिएको छ।







