डोटी । सुदूरपश्चिम प्रदेशलाई घाँस विकास प्रदेशको रूपमा विकास गर्न आवश्यक रहेको पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा.मदन सिं धामीले बताए ।
निर्देशनालयले बिहीबार दिपायलमा आयोजना गरेको प्रदेश स्तरीय व्यवसायी भेडापालक कृषकहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा निर्देशक धामीले सो कुरामा जोड दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश भौगोलिक बनावट, हावा पानीको किसिमले सम्भावना युक्त प्रदेश हो तर हामीले सम्भावनालाई चिन्न सकेका छैनौ अब कृर्षि र पशुपालनमा ढिलो गर्न नहुने बताए । उनले भने हाम्रा क्षेत्रमा थुप्रै बाझो जमिन छ अब जहाँतहीँ घाँस मात्र लगाउनु पर्छ, प्रदेश नै घाँसमय बनाउनु पर्छ अनि किसानहरू आफै आर्थिक रूपमा सक्षम हुन्छन् । घाँस खेती लगाउँदा पशुपालनमा सहयोग हुनुका साथै पहाडको भिरालो भागमा रहेको माटो बग्न नपाउने हुँदा फाइदै फाईदाँ रहेको बताए ।
सुदूरपश्चिमका उच्च पहाडी जिल्ला भेडा पालन,मध्यम क्षेत्र बाख्रा पालन र तराई क्षेत्र भैँसी तथा गाई पालन क्षेत्रको रूपमा विकास गर्ने निर्देशनालयको भावी योजना रहेको समेत निर्देशक धामीले बताए ।
भेडाको नस्ल सुधार, आहार, पशु स्वास्थ्य सेवा, बजारीकरण र कृषकहरूको क्षमता अभिवृद्धिको विषय महत्त्वपूर्ण भएको यसको बारेमा व्यापक छलफल गरिएको समेत निर्देशक धामीले बताए ।
कार्यक्रममा भेडा पालन व्यवसायको सुरुवाती इतिहास, वर्तमान अवस्था, चुनौतीहरू, व्यवसायलाई प्रवर्द्धन गर्न सकिने आधार र भाबियोजना लगायतका विषय बस्तुमा छलफल गरिएको पशु पंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका सूचना अधिकारी पुष्कर नाथले बताए । व्यवसायी कृषकहरूका मागका आधारमा कार्यक्रमहरूलाई कार्यान्वयन गर्ने योजना रहेको समेत सूचना अधिकारी नाथले बताए ।
निर्देशनालयले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेश हाल १ लाख २ हजार २ सय १३ भेडाहरू रहेका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको भेडापालन क्षेत्रको रूपमा उच्च सम्भावना भएका बाजुरा, बझाङ र दार्चुला जिल्लाका भेडा व्यवसायी कृषकहरूको सहभागिता रहेको थियो ।







