काठमाडौँ । काठमाडौँको सीता पाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरू बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।
केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको उनीहरूले बताएका छन् ।
बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरूलाई नचिनेको बताए पनि सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो ।







