२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाह ! तिम्बुङ पोखरी : यात्रा संस्मरण

अ+ अ-

विगत केही समयदेखि तिम्बुङ पोखरी घुम्न जाने कागजी योजना बन्ने र च्यातिने क्रम तीव्र रूपमा नै चल्दै थियो । योजनाहरू बन्थे बिग्रन्थे, बनाउँदै बिगार्ने बानी परिसकेको म कत्ति पनि विचलित भएको भने थिइन । मिति २०७७ साल कार्तिक १५ गते साँझ वीरेन्द्र सिग्देल सरको नम्बरबाट फोन आयो अरू काममा नै रहेकाले फोन काटिदिएँ र सम्झिएँ भरे फुर्सदमा फोन गर्छु, फेरि पनि फोन आयो, व्यस्तताका बावजुत फोन उठाएँ, वार्तालाप देहाय रह्योः

मः हेलो सर नमस्कार ।

सरः नमस्कार कता हुनुहुन्छ सर ?

मः सामान्य काममा छु सर ।

सरः हाकिम साहेबले फोन गर्नु भाथ्यो, तिम्बुङ पोखरी जाऊ भन्दै हुनुहुन्थ्यो, जाऊँ हैन सर ।

मः ए ल हुन्छ सर, कहिले जाने भन्नुभयो त ?

सरः पर्सि जाने रे तपाईँ भोलि आउनु सँगै जाउन् पारि सम्म अनि पर्सि बिहानै जाउँला ।

मः हुन्छ सर, को को जाने रे ?

सरः सुमन सर, तोय सर, म, तपाई अनि मिल्यो भने वडा अध्यक्ष ज्यु पनि जानु हुन्छ अरे ।

मः ए ल सर म भोलि आउँछु सँगै जाउँला । सम्पर्क मै रहुँन ।

सरः ल सर व्यस्त पनि हुनुहुँदो रहेछ, भोलि सम्पर्क गरौँ ।

मः ल सर बाई

सरः ओके बाई

२०७७/०७/१६ गते बिहान फालेलुङ गाउँपालिका साबिक सिदिन गा.वि.स बाट मेरो यात्रा प्रारम्भ भयो । बिचमा पटक पटक वीरेन्द्र सर सँग सम्पर्क भयो । मेची राजमार्ग अन्तर्गत पर्ने सुनुवार गोलाईबाट म रहेको गाडीमा लेखा अधिकृत वीरेन्द्र सिग्देल सर पनि जोडिनु भयो । बेलुका ४ बजे हामी सिदिङ्वा गाउँपालिका साब्लाखु पुग्यौँ । मैले तोय सर लेखिएको नम्बर मा फोन दबाएँ, वार्तालाप देहाय बमोजिम रह्योः

मः सर नमस्कार ।

सरः नमस्कार सर, कहाँ हुनुहुन्छ सर ?

मः म त ताप्लेजुङ आइपुगेँ त सर । तपाई कहाँ हुनुहुन्छ ?

सरः म भञ्याङ बजार मा छु, तपाईँ पनि आउनु न ।

मः ल सर म आए ।

वीरेन्द्र सर र मेरो भञ्याङ स्थित लामा किराना पसलमा तोयानाथ रिमाल सर सँग भेट भयो । उहाँ यात्राका लागि आवश्यक सामाग्री खरिदका क्रममा हुनुहुन्थ्यो । सामान खरिद प्याकिङ पश्चात् मिति २०७७।०७।१७ गते बिहान सिदिङ्वा १ काली खोला स्थित मट्टिटार सम्म मात्र सवारी साधन पुग्ने भएकाले त्यहाँसम्म गाडीमा र त्यसपछि पैदल यात्रामा तिम्बुङ पोखरी जाने सम्पूर्ण तयारी पुरा गरी तोयासरसँग छुट्टियौँ ।

जीवन जिउने क्रममा धेरै यात्राहरू भएका छन् कति यात्राहरू सम्झौँ भनेर पनि सम्झन सकिन्न भने कति यात्राहरूलाई बिर्सौँ भनेर पनि बिर्सन सकिन्न त्यही अनेकन् यात्रा मध्येको एउटा हाम्रो यात्रा हो सिदिङ्वा गाउँपालिका वडा नं. १ काली खोला स्थित तिम्बुङ पोखरीको यात्रा । मिति २०७७/०७/१७ गते बिहान १० बजे सिदिङ्वा गाउँपालिका साब्लाखुबाट सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन (लिम्बु), लेखा अधिकृत वीरेन्द्र सिग्देल, आन्तरिक लेखा परीक्षक (म) भरत रिजाल, जिन्सी शाखा प्रमुख तोयानाथ रिमाल,फिल्ड सहायक नवीन राई र स्थानीय युवा सञ्चबीर लिङ्देन सहित हाम्रो तिम्बुङ पोखरीको यात्रा सुरु भयो । दिनको १ बजे मट्टिटार स्थित सहकर्मी रुद्र प्रसाद बेघा सरको घरमा बिहानको भोजन कार्यक्रम तामझामका साथ सम्पन्न गरियो । अब हाम्रो तिम्बुङ पोखरीको औपचारिक पैदल यात्रा प्रारम्भ भयो ।

“घामैको झुल्को, पानी हो मुल्को………………..
…………………………………………………..
…………..ए कान्छा घुम्न जाऊ लै लै मलाया हङकङ”

झोलाको गोजीमा रहेको ध्वनि यन्त्रमा गुन्जिन थाल्यो, कोही कानले सुन्दै उडाउँदै थियौँ त कोही उडिरहेका थियौँ त कोही पाँचथरको मनमोहक दृश्यले लठ्ठिरहेका थियौँ । हामी सबैका नसा नसामा साहस ऊर्जा सलबलाइरहेका थिए भने मस्तिष्कले सम्पूर्ण समस्या, दुःख, पीडाहरू भुलिसकेको थियो । कालीखोलाको मनमोहक दृश्य र पाँचथरको च्याङ्थापु, फलैँचा लगायतका क्षेत्रमा रहेको मनोरम प्राकृतिक सौन्दर्य नियाल्दै साँझ ५ बजे कालीखोलाको मिचिम स्थित आदरणीय दाइ टयेन्द्र चापागाईँको घर पुगेर हामीले तिम्बुङ पोखरी यात्राको पहिलो दिनको अन्त्य गर्दै दाइले हामीलाई गर्नुभएको न्यानो स्वागत सहितको मिष्टान्न भोजन सहित आनन्दमयः रात व्यतीत गर्‍यौँ ।

घुमफिरले मनोरञ्जन मात्र दिँदैन नयाँ भूगोल, समाज परिवेश अनि पर्यावरणको भरपुर ज्ञान पनि दिन्छ हामीले पनि कालिखोला क्षेत्रको प्राकृतिक, सामाजिक पर्यावरणसँग घुलमिले हुने सुनौलो अवसर पायौँ । भगवानका मन्दिरमा मात्र घण्टीको आवाज सुनिन्छ भन्ने भ्रम पालेर बाँचेका हामीलाई राति सुतेको समयमा गाईको घाँटीमा झुण्डिएको घण्टीबाट आएको टिङटिङ आवाज सुन्दा टयेन्द्र दाइको घर मन्दिर र दाइ,भाउजू अनि बा, आमा देवता सरह महसुस भयो । वास्तवमै गाई, गोरु, भेडा, बाख्राले वरिपरि सजिएको घर मोटरसाइकल, कार लगायतका प्रदूषित साधनले घेरिएको घर भन्दा हजारौँ गुणा सुन्दर हुँदो रहेछ भन्ने कुरा जो कोहीले पनि मिचिम स्थित सानो बस्तीमा पुगेपछि थाहा पाउँछ ।

२०७७ कार्तिक १८ गते बिहान ६ बजे उज्यालोको आगमनसँगै हाम्रो तिम्बुङ पोखरी यात्राको दोस्रो दिनको प्रारम्भ भयो, अँध्यारोलाई समेत प्रवाह नगरी पूर्णिमाको रातमा चन्द्रमाको प्रवेशले जसरी कालो रातलाई उज्यालोमा परिणत गर्दछ त्यसरी नै हाम्रो यात्रामा चन्द्रामाले झैँ उज्यालो छर्दै उदाउनुभयो आदरणीय दाइ टयेन्द्र चापागाईँ । यात्रामा उहाँको प्रवेशले हामीलाई सहजता मात्र थपेन थप हौसला, प्रेरणा र वारिपारिका मनमोहक दृश्यबारे जानकारी पाउने अवसर समेत प्रदान गर्‍यो । बिहान आठ बजे बस्ती क्षेत्रको अन्तिम गाउँ आकाशे पुगेपछि उकालो बाटोको सहयात्रीको आवश्यकता महसुस भयो, हामीले बाटोको छेउको घरमा खुकुरी मागेर सबैलाई लट्ठी तयार पार्‍यौँ यी लट्टीहरूले हाम्रो यात्रामा मानवीय जीवनमा जीवन सङ्गिनीले भन्दा ठुलो र भरपर्दो सहयोग गर्‍यो ।

काली खोलाको सुन्दर बस्ती आकाशे पार गरेपछि लेकाली क्षेत्रको सुन्दर चौर नियाल्दै हाम्रो यात्रा अघि बढ्यो । बाटोको आसपासमा रहेको सुन्दर चौर, बुट्यान अनि चरिरहेका ठाडा ठाडा सिङ, हृष्टपुष्ट शरीर अनि लामो झ्याप्प परेको पुच्छर भएका उराङ, चौरको बिचमा सानो चित्राको छहारी अनि चित्राको घेरा बारा रहेको गोठ साँच्चिकै स्वर्ग यो भन्दा सुन्दर होला भनेर कल्पना समेत गरिएको थिएन । अलि माथि चढेपछि एउटा गोठमा पुगियो करिब १५ वर्ष उमेरको भाइ गोठमा एक्लै रहेछ । एउटा कुनामा राति सुत्ने लत्ता कपडा पट्याएर राखिएको थियो, ओछ्यानको छेउमै ठुलो अगेनु अनि अर्को छेउमा टोलङ, टोलङको छेउमा ठुलो डब्बिमा दूध तताएर राखिएको थियो ।

मेरो मनले सोच्यो मैले कहिँकतै सुनेको दूध पोखरी सायद यही हुनुपर्छ, मनमनै कल्पना गरेँ म जस्ता फिस्टेले पौडी खेल्न समेत हुने रहेछ यति बेला मेरो मस्तिष्कले स्वर्गमा रहेको दुधपोखरी अवलोकन गरेको अनुभूति गरिरहेको थियो । हामीले त्यही गोठमा औषधी सेवन गरेका उराङबाट उत्पादित पौष्टिक दूध सेवन गरेर उकालो यात्रा अघि बढायौँ । केही माथि पुगेपछि हामी समुन्द्र सतहदेखि २८७४ मिटरको उचाइमा रहेको थाम डाँडा भन्ने ठाउँमा पुग्यौँ । त्यहाँबाट देखिने वारिपारिको दृश्य न कुनै शब्दमा व्यक्त गर्न सक्ने क्षमता म मा रह्यो न कुनै प्रविधिले नै प्रतिबिम्बित गर्न सक्यो न कसैले दिमागमा चित्रण गरेर अरूसामु प्रस्तुत गर्न सक्ने सामर्थ्य राख्यो केवल प्रत्यक्ष दृश्यावलोकन गर्ने व्यक्तिले अनुपम प्राकृतिक सौन्दर्य भन्नुको विकल्प रहेन । यही दृश्यावलोकनलाई मेरो भ्रमण टोलीका साथीहरूले दोस्रो चरम सुख भनी नामकरण गर्नु भएको थियो ।

मानवीय जीवनमा दोस्रो चरम सुख प्रदान गर्न सक्ने क्षेत्रबाट साढे तिन किलो मिटर पार गरेपछि हामी निकास नामक स्थलमा पुग्यौँ यो क्षेत्र समुन्द्र सतहदेखि ३१४९ मिटरको उचाइमा रहेको छ । निकास चोकमा हामीले यात्राको दोस्रो दिनको बिहानको खाना खायौँ । प्राकृतिक जीवनशैली, वरिपरिको स्वच्छ वातावरण साँच्चिकै मानव भएर जीवन जिउनुको मजा सायद त्यस परिवेश भन्दा अन्त पनि होला भनेर मेरो मस्तिष्कले अनुमान सम्म पनि गर्न सकेन ।

डोकोभरि राखिएको घिउ, चाङ भरि सुकाइएको छुर्पी, गोठ वरिपरि उराङ, भेडा, बाख्राले भरिभराउ, फराकिलो भौगोलिक, सामाजिक एवम् मानसिक क्षेत्र सञ्चारकालागि आफ्नै गला, आहारका लागि आफ्नै पाखुरा स्वावलम्बी जीवनशैली यो परिवेशको अनुभव गर्न पाउनु स्वर्गीय आनन्द नै हो । हाम्रो यात्राको समय र भूगोलको उचाइ बढेसँगै हामीलाई लेक लाग्ने लक्षणहरू देखा पर्न थाले, पुर्ववत तयारी अनुसार लेक लाग्नबाट बच्नका लागि झोलामा बोकेको भुटेको मकै गोजीमा झिकेर कुटुकुटु टोक्दै यात्रा अघि बढायौँ बिच बिचमा मिस्री र अदुवाको सेवनले यात्रामा थप ऊर्जा थप्दै थियो । यस क्षेत्रको मनमोहक दृश्यको अवलोकनपछि केही समयको हिँडाइपछि हामी ३३१० मिटरको उचाइमा अवस्थित नुनथला भन्ने स्थलमा पुग्यौँ । यस स्थानमा पर्यटकहरूको बसाइ सहज बनाउने उद्देश्यले एक अतिथि आवास गृहको निर्माण गरिएको छ ।

सुन्दर प्राकृतिक स्थल साथै बडो मेहनतका साथ सिदिङ्वा गाउँपालिकाले निर्माण गरेकोअतिथी आवास गृहत्यस क्षेत्रको आकर्षणको केन्द्र बिन्दु नै हो । यहाँबाट करिब साढे २ किलो मिटरको यात्रापछि हामी देउराली नामक स्थलमा पुग्यौँ यो क्षेत्र समुन्द्र सतहदेखि ३७६२ मिटरको उचाइमा अवस्थित छ । यस स्थानबाट साँझपख सूर्य अस्ताउँदाको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ । अग्ला अग्ला डाँडाहरूलाई समेत सोझै अवलोकन गर्न सकिने यस क्षेत्रबाट विभिन्न हिमालहरूको समेत अवलोकन गर्न सकिन्छ । ताप्लेजुङको चर्चित पर्यटकीय क्षेत्र पाथीभरा, विश्वको दोस्रो सर्वोच्च शिखर कञ्चनजङ्घा र कुम्भकर्णलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिने यो क्षेत्रले आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने मात्र होइन फर्कन समेत भुलाइदिन्छ । केही समय मन्द मन्द उकालोको यात्रापछि हामी समुन्द्र सतहदेखि ३८८९ मिटर उचाइमा रहेको बिखे चौर नामक स्थलमा पुग्यौँ, त्यहाँ हाम्रो पुर्ववत योजना अनुरूप साँझको बास बस्ने योजना थियो ।

योजना अनुरूप त्यहाँ पुग्दा साँझपरिसकेको थियो कतै पनि नदेखिएकाले हामी आदरणीय दाइ भीम भण्डारीको गोठमा बास बस्यौँ त्यही गोठमा अरू घुम्न आउने पर्यटकहरूको टोली समेत बास बसेको थियो त्यहाँको हाम्रो बास सुखमय एवम् आनन्ददायक रह्यो । चिसो मौसमको बाबजुद ठुलो अगेनामा आगो बालेर वरिपरि बसेर आगो ताप्नुको आनन्द सायद अरू कार्यमा पाउन सकिन्छ भन्ने मलाई लागेन । गोठको आकार सानो भएर केही फरक परेन किनभने गोठको बहन क्षमता र त्यहाँ बस्ने मानिसहरूको मन एकदम फराकिलो थियो । गगनचुम्बी महलमा अट्न नसकिने हामी २२ जना मानिसहरू त्यो गोठमा सहजताका साथ आनन्दमय तरिकाले रात बितायौँ । मानिसको जीवनमा अनेकन् रातहरू व्यतीत हुन्छन् कति रातहरू दुःखदायी हुन्छन् त कति रातहरू आनन्दमय हुन्छन्, मेरो जिन्दगीका आनन्दमय रातहरूमध्ये एक अति आनन्दमय रात यो रात पनि हो ।

मिति २०७७ कार्तिक १९ गते बिहान लेकको चिसोको आगमनसँगै निन्द्राको बहिर्गमन पश्चात् बाहिर निस्केर

वरिपरिको वातावरण नियाल्ने के कोसिस गर्दै थिएँ डाँडामाथिबाट घामले मलाइ स्वागत गर्न भ्याइसकेछ । खुलेको वातावरण वरिपरिका रमाइला डाँडाकाँडाहरू सहजै अवलोकन गर्न सकिन्थ्यो माथिपट्टि के फर्किएको थिएँ एउटा कालो सेतो रङ्गको समुचित संयोजन भएको ठुलो ढुङ्गा आकारको वस्तुको आकृति मेरा आँखामा पर्‍यो झट्ट नियालेँ लाग्यो रङ्गी चङ्गी ढुङ्गो रहेछ, केही समय हेरेँ हल्लियो लाग्यो अचम्म यो के रहेछ हेर्दै गएँ त्यस्ता विभिन्न रङ्गका अनेकन् पो रहेछन् त्यही गोठतिर आउन लागे, मस्तिष्कको एक कुनामा उब्जियो सानै छँदा सुनेको थिएँ हिमाली क्षेत्रमा चौँरी पाइन्छ । रुपैयाँ ५ को नोटमा मात्र चौँरीको दृश्य देखेको मलाई यसरी प्रत्यक्ष चौँरीको अवलोकन गर्ने अवसर पाउनु ठुलो उपलब्धि लाग्यो हेर्दै थिएँ चौँरीको बथान आएर गोठ वरिपरिको ढुङ्गा चाट्न थाले अचम्म लाग्यो हेरेँ ढुङ्गामा नुन छरिएको थियो लाग्यो यो क्षेत्रमा ढुङ्गामा नुन पलाउँदो रहेछ तर होइन रहेछ वास्तवमा चाहिँ चौँरीकालागि भनेर ढुङ्गामा नुन राखिएको रहेछ ।

सयौँको सङ्ख्यामा रहेका ठुला साना चौँरी र तिनीहरूको एकरूपता नियाल्दा लाग्यो यसबाट समानता, अधिकार र एकरूपताका सम्बन्धमा मानिसले पनि केही सिक्नु पर्दछ चौँरीका बाछाहरू आमाको स्तनपान गरेर आनन्द लिई रहेका थिए भने कति याक र चौँरी गाईहरू रसलिलामा रमाइरहेका थिए । आकाशतर्फ फर्किएर नियालेँ जोडी हराएको मृग झैँ बादलका टुक्राहरू यत्रतत्र भौँतारिरहेका थिए । मोबाइलको अलार्मले निन्द्राबाट ब्युँझने बानी परेकाहरूलाई डाँफेको मिठो आवाजले व्यँझने अवसर पाउँदा कसको मन नरमाउला हामी पनि त्यसबाट अक्षुतो रहन सकेनौँ शरीरमा थकानको नामोनिसान रहेन नयाँ ऊर्जा र साहस नसा नसामा दगुर्न थाल्यो ।

“घामैको झुल्को, पानी हो मुल्को………………..
…………………………………………………..
…………..ए कान्छा घुम्न जाऊ लै लै मलाया हङकङ”

झोलाको गोजीमा रहेको ध्वनि यन्त्रमा गुन्जिन थाल्यो, यसै ध्वनिको गुञ्यमानसँगै हाम्रो तिम्बुङ पोखरी यात्राको तेस्रो दिनको सुरुवात भयो ।अघिल्लो दिन र अघिसम्म पछाडि सरेका पाइलाहरू, लेक लागेर भनौँ वा अक्सिजनको कमी भएर अनुहारमा सातुका पिठोहरू दलेर जसोतसो घिस्रिएका पाइलाहरू एकाएक अघि बढे । यो हिँडाइमा मेरो भने एक रफ्तारको हिँडाई थियो सायद लाग्यो यहाँ कैलाश कुटतिर पार्वतीको खोजीमा शिवजीको हिँडाई मिश्रित छ । बिखे चौरदेखि करिब ५ घण्टाको यात्रापछि हामी समुन्द्र सतहदेखि ४४८० मिटरको उचाइमा रहेको स्वर्गको पर्यायवाची क्षेत्र तिम्बुङ पोखरी पुग्यौँ, बाटो भरी भनिँदै आएको गृह मरिचिको कथा एकाएक अन्त्य भयो ।

हामीले गन्तव्य भेटायौँ, गगन र धरतीबिचमा प्रकृतिले दिएको अनुपम उपहार, वात्सल्य प्रेममा लाडिएर एउटा बालक आमाको काखमा लडीबुडी खेलेझैँ लाग्यो । मित्र सन्चवीर लिङ्देन बाहेक हामी कर्मचारीहरूले भर्खरै आर्थिक वर्षको अन्त्यको कार्य बोझ र तनाव छिचोलेर आएका थियौँ तर एकाएक ठुलो झरीमा बचेरालाई चरीले ओत दिएझैँ हामी सबै सन्तान खुबसँग रमायौँ । हामी लामो योगासनबाट शून्यतामा पुगेझैँ मस्तिष्क खाली गरेर सकारात्मकताको बाटोमा मात्र पुगिसकेका थियौँ एउटा परिभाषाले भन्यो कि शताब्दी एकाइशौँ होस वा युग कली र वैज्ञानिक किन नहोस्, दुनियाँको जुनसुकै शाश्वत लडाइँको विजेता वास्तवमा मान्छे नभई प्रकृति नै रहेछ । हाम्रो यात्राका सारथि आदरणीय दाइ टयेन्द्र चापागाईँले बताउनु भए अनुसार तिम्बुङको अर्थ लिम्बु भाषामा “बन्दुक पड्किएको आवाज” भन्ने हुन्छ ।

पोखरीको सुन्दरता र स्वच्छपनाबारे स्थानीयवासीले बताएअनुसार पोखरीमा झरेको रुखका पात धोबी चराले टिपेर फ्याँक्ने भएकाले पोखरी यती सफा र सुन्दर देखिएको हो । पोखरीको पानीमा ऐना झैँ आफ्नो प्रतिबिम्ब देखिन्थ्यो, पोखरीको करिब मध्य भागको छेउमा सुन्दर मन्दिर, त्यस क्षेत्रको सौन्दर्यको पूर्ण वर्णन गर्न सक्ने शब्द मैले नेपाली शब्दकोशमा पाउन सकिन । त्यस क्षेत्रको सुन्दरतालाई तस्विरका रूपमा कैद गर्ने अनेकन् प्रयास हामीले गर्‍यौ तर केवल तस्बिर कैद भयो तर सुन्दरता कैद गर्न भने सकेनौँ । वरिपरिको मनोरम दृश्य नियाल्यौँ मनमनै सोचेँ “नमरी स्वर्ग देखिँदैन” यो भनाइमा पनि सत्यता रहेनछ हामीले जीवितै स्वर्गको दृश्यावलोकन गर्ने अवसर प्राप्त गर्योँ । स्वर्गीय आनन्दको अनुभूति भयो तिम्बुङ पोखरीको सुन्दरताका बाँकीहरू यिनै थिए । हामी तिम्बुङको यही सुन्दरतालाई मानसपटलमा सजाउँदै आ-आफ्नो झोली तुम्बि बोकेर फिर्ता भयौँ ।