काठमाडौँ । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदै छ ।
हिजो (बिहीबार) एमाले विधान महाधिवेशन मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको थियो ।
समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
निजी सवारी नभएका प्रतिनिधिहरुका लागि ललितपुरको सातदोबाटोमा माइक्रो बसको व्यवस्था गरिएका छन् । अनेरास्ववियु,, युवा सङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २ सयका सङ्ख्यामा स्वयंसेवक व्यवस्था गरिएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मीलगायत सबैलाई बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । यसका लागि क्याटरिङलाई जिम्मा दिइएको छ ।
महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ ।