काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम लागूऔषध थाई गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरणस्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४६ वर्षीया शबानाबानु यार महम्मद शेख र ३५ वर्षीया सरिफा अब्बास अन्सारी रहेका छन्।
ब्युरोका अनुसार उनीहरू कात्तिक ९ गते थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडान नम्बर ओडी १८२ मार्फत काठमाडौं आएका थिए।
हवाई मार्गबाट नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनीहरूलाई जाँच गर्दा १४ किलोग्राम लागूऔषध थाई गाँजा फेला पारेको हो।
प्रहरीले उनीहरूको साथबाट लागू औषधसँगै दुई थान पासपोर्ट र दुई थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोले बरामद गाँजाको स्रोत, नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित कारोबारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
यद्यपि, बरामद लागूऔषध नेपालमा कसलाई बुझाउने तयारी थियो वा त्यसमा अन्य व्यक्तिको संलग्नता थियो भन्ने विषयमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।




