काठमाडौँ । सनराइज बैङ्कले बैङ्कका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैङ्कको हाल कायम चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैङ्क सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृत र बैङ्कको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
त्यस्तै प्राइम बैङ्कले आफ्ना शेयरधनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ । बैङ्कले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ ।
बैङ्कका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र बैङ्कको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । बैङ्कको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।