काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औँ जनयुद्ध दिवस मनाउन आज (आइतबार) जनकपुरधाम जाने भएका छन् ।
प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र जनकपुरधामस्थित मधेस भवनको कभर्ड हलमा मध्याह्न १ बजे जनयुद्ध दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड जनकपुरधाम जान लागेका हुन् ।
कार्यक्रमको आयोजना मधेस सरकारको मधेस सहिद प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानको अध्यक्ष एवं प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जनयुद्धका सहिद परिवारलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी दिए ।
उनका अनुसार जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५४३ जनाका परिवारको तथ्याङ्क संकलन भएको छ । जसमध्ये आज तत्काल ४० जनालाई १ लाखको दरले आर्थिक सहयोग उपलब्ध गराइनेछ ।
‘जनयुद्धका सहिद परिवारलाई ३ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय भएको छ’, उनले भने, ‘अहिले तत्काल प्रत्येक जिल्लाका ५ सहिद परिवारलाई १ लाखको दरले उपलब्ध गराउँछौँ । बाँकी सहिद र रकम पछि वितरण हुनेछ ।’
प्रदेश सरकारले नै पहिलो पटक जनयुद्ध दिवस मनाउँदै छ । आइतबार मधेस सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । संघीय सरकार र अन्य प्रदेशले भने सार्वजनिक बिदा दिने गरेको छैन ।